खेल

न्यु डायमन्डको चुनौती आर्मी

आर्मीविरुद्ध स्पाइक गर्दै पुलिसकी कोपिला उप्रेती (पहेंलो) । तस्बिर सौजन्यः राखेप

काठमाडौं – साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमी र विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन्।

नैकापस्थित न्यु डायमन्ड एकेडेमीको कोर्टमा भएको दिनको दोस्रो खेलमा चितवन टाइग्रेसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड समूह ‘ए’ को विजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पाहुना टोली चितवनविरुद्ध घरेलु टोली न्यु डायमन्डले पहिलो सेट २५–१३ ले आफ्नो बनाएको थियो।

दोस्रो सेटमा २५–१८ को जित निकालेको न्यु डायमन्डले तेस्रो सेट पनि २५–११ को सहज जित निकालेको थियो। न्यु डायमन्डले क्वार्टरफाइनलमा समूह ‘सी’ बाट उपविजेता बनेको आर्मीसँग प्रतिस्पर्धा गर्ने भएको हो। बुधबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिससँग पराजित भएपछि आर्मी समूह ‘सी’ को उपविजेता बनेको थियो।

आर्मीमाथि पहिलो सेटमा २५–२१ को जित निकालेको पुलिसले दोस्रो सेटमा पनि २५–२१ को रोमाञ्चक जित निकाल्न सफल भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम सेटमा आर्मी खेलमा फर्किन प्रयास गरे पनि दुई सेट जित्दै उच्च मनोबल बनाएको पुलिसलाई आर्मीले रोक्न सकेन। अन्तिम सेट २५–१८ को सहज जित निकाल्दै पुलिस अन्तिम आठमा प्रवेश गरेको हो।

उता समूह ‘ए’ को उपविजेता चितवनसँग क्वार्टरफाइनलमा भेट हुन पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै समूह ‘सी’ को विजेता बनेको हो। यसअघि भएको पहिलो खेलमा साबिकको उपविजेता एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।एपिएफले जावलाखेलमाथि पहिलो सेट २५–५ ले जितेको थियो।

फराकिलो पहिलो सेट निकालेको एपिएफले दोस्रो सेट २५–१० र तेस्रो सेट २५–८ ले आफ्नो बनाएको थियो। जितसँगै समूह विजेता बनेको एपिएफले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेता पारामाउन्ट उच्चमाविसँग प्रतिस्पर्धा गर्नेछ। पारामाउन्ट समूह ‘बी’ को प्रतिद्वन्द्वी टप्स उच्च माविसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। चौथो खेलमा टप्पसँग पारामाउण्ट २५–१४, २५–१२, २५–१० को सोझो सेटमा स्तब्ध बन्यो।

प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलका खेल सञ्चालन हुनेछन्। सुकेधारास्थित होङ वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन सञ्चालन भएको प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २६ पुस २०७५ ००:४९ बिहीबार

न्यु_डायमन्ड_एकेडेमी होङ_वान्जी महिला_भलिबल त्रिभुवन_आर्मी