खेल

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै

धनगढी – मोफसलकै सर्वाधिक धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता मंगलबार (आज) बाट सुरु हुँदैछ। २ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दै छन्। 

खेल सुरु हुनुअघि मध्याह्न १२ बजे ट्राफिक चौराहबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने सुदूरपश्चिम–११ स्पोर्ट्सका अध्यक्ष  हमालले  बताए। र्याली प्रतियोगिता स्थल पुगेपछि खेलको उद्घाटन हुनेछ। मंगलबार प्रतिस्पर्धा गर्ने टोलीका खेलाडी धनगढी पुगिसकेका छन्।

सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक क्लबले पत्रकार सम्मेलन आयोजना गरेर तयारी पूरा भएको जानकारी दिएको छ। क्लबका अध्यक्ष सुरेश हमालले सबैको साथ र सहयोगले यो प्रतियोगिता तेस्रो संस्करणमै धेरै उचाइमा पुग्न सफल भएको बताए। यो गोल्डकप सबै सुदूरपश्चिमेका लागि महत्वपूर्ण प्रतियोगिता भएको उनको भनाइ छ।

‘सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रूपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ उनले थपे। पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले संस्थागत र व्यक्तिगत रूपमा प्रतियोगितालाई भव्य बनाउन प्रयास गरिएको बताए।

कुल १२ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सिसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५– १५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ। प्रतियोगितामा दर्शकहरूलाई खेल हेर्न टिकटको व्यवस्था गरिएको छ। क्वार्टरफाइनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ टिकटको मूल्य रहेको छ।

प्रकाशित: २४ पुस २०७५ ०१:४५ मंगलबार

मोफसल सुदूरपश्चिम_खप्तड_गोल्डकप उद्घाटन_खेल सर्वाधिक_धनराशि