खेल

नेपाल पुलिसलाई उपाधि

उपाधि हात पारेपछि नेपाल पुलिसका खेलाडी। तस्बिर : नागरिक

इटहरी – इटहरीमा सम्पन्न दोस्रो सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सोमबार विभागीय प्रतिद्वन्द्वी आर्मीलाई फाइनलमा स्तब्ध बनाउँदै उपाधि उचालेको पुलिसले नगद चार लाख रुपैयाँ प्राप्त गरेको छ।

इटहरी रंगशालामा सोमबार भएको फाइनलमा आर्मीलाई ३–१ सेटले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो। पुलिसले निकै प्रतिस्पर्धात्मक रहेको पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै आर्मीलाई सुरुआती झड्का दिएको थियो।
तर, दोस्रो सेट २५–२२ ले आर्मीले आफ्नो बनाउँदै पुनरागमन गरेको थियो। यद्यपि, त्यसपछिका सेटमा पुलिसले २५–२१ र २५–१७ ले आर्मीलाई निराश पार्दै उपाधि सुनिश्चित ग¥यो। त्यससँगै उपविजेतामै सीमित आर्मीले नगद दुई लाख रुपैयाँ प्राप्त गर्यो।

शीर्ष तीनमा विभागीय टोलीकै वर्चस्व रहँदा एपिएफ तेस्रो भयो। एपिएफ गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्दै तेस्रो भएको होे। गण्डकीको चुनौतीलाई २५–२२, २५–१६ र २६–२४ को सेटमा समाप्त पारेको एपिएफले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो।
प्रतियोगितामा आर्मीकै धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी नेपाल घोषित भए। त्यसबापत उनले २४ इन्चको एलइडी टिभी प्राप्त गरे। विधागतअन्तर्गत स्पाइकर पुलिसका कुलबहादुर थापा, ब्लकर पुलिसकै दीपक जोशी र सेटरमा पुलिसकै इमबहादुर मगर उत्कृष्ट घोषित भए। उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा र उत्कृष्ट क्विकर आर्मीकै भैरव बम घोषित भए।
उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ चयन भए। उत्कृष्ट सबैले जनही नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। विजेता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टलगायतले पुरस्कार वितरण गरे। पुस १९ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ, आर्मी तथा नेपाल पुलिस क्लब गरी १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २४ पुस २०७५ ००:३८ मंगलबार

इटहरी नेपाल_पुलिस_क्लब सभामुख_कप_भलिबल उपाधि