खेल

सभामुख कप भलिबल बिहीबारदेखि

इटहरी – सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आज बिहीबारदेखि इटहरीमा हुँदै छ। इटहरीमा पछिल्लो समय विशिष्ट व्यक्तित्वको नाममा ठूला खेलकुद प्रतिस्पर्धा हुने क्रममा सभामुख कप राष्ट्रिय भलिबल हुन लागेको हो।

सभामुख कप राष्ट्रिय पुरुष भलिबलको पहिलो संस्करण रोल्पामा भएको थियो।  सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने दोस्रो संस्करण पाँच दिनसम्म चल्नेछ। भलिबल खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो। इटहरीमा पाँच वर्षअघिसम्म राष्ट्रियस्तरका प्रतियोगिता नगन्य मात्रमा हुने गर्थे। तर, पछिल्लो समय इटहरीलाई स्पोर्ट्स सिटीका रूपमा विकास गरेर अघि बढाउने योजनाअनुरूप खेलकुद गतिविधि बढ्दै छन्।

सभामुख कम भलिबल प्रतियोगितामा नेपालका सातवटै प्रदेशका टोली र विभागीय टोलहरू एपिएफ, नेपाल आर्मी तथा नेपाल पुलिसको सहभागिता रहनेछ। प्रतियोगिताका विजेता टोलीले चार लाख रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई  दुई लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा तृतीय हुने टोलीलेगद एक लाख रुपियाँ प्राप्त गर्नेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २४ इन्चको एलइडी टिभी प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वरलाई जनही नगद पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्को संरक्षणमा आयोजना हुने प्रतियोगिताको व्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल संघ र सहयोगी संस्थाको रूपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल संघ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेका छन्।

प्रकाशित: १९ पुस २०७५ ००:१३ बिहीबार

सभामुख_कप_राष्ट्रिय_पुरुष_भलिबल इटहरी