खेल

महेश्वरलाई नगदसहित सम्मान

काठमाडौं – विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले नगदसहित सम्मान गरेको छ।

थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वरलाई त्रिभुवन विमानस्थलमा फर्किएपछि संघले नगद ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। संघले पदक विजेता महेश्वरलाई पूर्वघोषित नगद पुरस्कार ३ लाख रुपैयाँ प्रदान गरी  सम्मान गरेको हो।

सम्मान कार्यक्रममा फिट्नेस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालले १ लाख २० हजार, शारीरिक सुगठन संघका सदस्य मोहनकृष्ण श्रेष्ठले ५१ हजार, शारीरिक सुगठन संघका प्रथम उपाध्यक्ष एवं पूर्वएआइजी विजयलाल कायस्थ, शारीरिक सुगठन संघका उपाध्यक्ष राजेश उपाध्याय र डिभाइन फिजिकल फिट्नेस सेन्टरले समान ५० हजार, आरभ मल्टीनेसन प्रा.लि.की रज्जु रञ्जितकार तथा शारीरिक सुगठन संघका कोषाध्यक्ष सागर बगालेले समान २५ हजार नगद पुरस्कार महेश्वरलाई प्रदान गरे। यस्तै गोपी बर्तौलाले महेश्वरलाई नगद ५० हजार सम्मानस्वरूप प्रदान गरे।

सोही अवसरमा विश्व शारीरिक सुगठनका रजत विजेताद्वय ननिता महर्जन र रुजेश शाहीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै महेश्वरसंगै टिम व्यवस्थापकका रूपमा थाइल्यान्ड गएका श्याम श्रेष्ठ पनि सोही अवसरमा सम्मानित भए। श्याम विश्व शारीरिक सुगठनमा नेपाललाई पदक (कांस्य) दिलाउने पहिलो खेलाडी हुन्।

थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ सम्म भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। महेश्वरले जितेको उक्त स्वर्ण नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो हो। विश्व शारीरिक सुगठनको फरक संस्करणमा ननिता महर्जन तथा रुजेश शाहीले रजतसम्म जितेका थिए।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन्। महेश्वरले भुटानमा भएको ५०औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ताहचल निवासी ३५ वर्षीय महेश्वर ११औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन्।

प्रकाशित: १७ पुस २०७५ ०४:५१ मंगलबार

महेश्वर_महर्जन नेपाल_शारीरिक_सुगठन_तथा_फिट्नेस_संघ नगद सम्मान