खेल

अझैसम्म कसैको उपाधि सुरक्षित छैन : क्लोप

लन्डन – लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले यस सिजनको लिग उपाधि यात्रा कसैले पनि सुरक्षित नदेखेको उल्लेख गर्दै आर्सनल र चेल्सीले पनि उपाधि जित्ने सम्भावना रहेको बताएका छन्।

सिजनको करिब आधा खेल सकिँदा लिभरपुल अपराजित यात्राका साथ उपाधिको दाबेदार मानिए पनि क्लोपले छैटौं टोलीको समेत सम्भावना रहेको बताएका हुन्। क्रिसमस बिदाअगाडि कुल १८ खेलमा लिभरपुल चार अंकको अग्रतासहित शीर्ष स्थानमा छ।

यस सिजन हालसम्म अपराजित रहँदै ४८ अंक बटुलेको लिभरपुल इङ्लिस प्रिमियर लिगको पहिलो उपाधि जित्ने दाउमा छ। यद्यपि, प्रशिक्षक क्लोपले भने कसैले पनि उपाधि यात्रामा एक्लो महसुस नगरिसकेको बताएका छन्।

सबैको समान १८ खेल सकिँदा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४४, तेस्रो टोटेनह्याम हट्सपरको ४२, चौथो र पाँचौं स्थानमा रहेका चेल्सी र आर्सनलका समान ३७ अंक छन्। अंकतालिका हेर्दा चेल्सी र आर्सनल शीर्ष स्थानको लिभरपुलसँग ११ अंकले पछाडि परिसकेका छन्।

क्लोपले लिभरपुलका समर्थकलाई लिगको शीर्ष स्थानमा रहँदैमा अहिलै नै उपाधि सुरक्षित भएको नसोच्न आग्रहसमेत गरेका छन्।

यद्यपि, पछिल्ला १० संस्करणमध्ये ८ संस्करणमा क्रिसमस डे अगाडि शीर्ष स्थानमा अग्रता बनाउने क्लबले उपाधि जितेको इतिहास छ। सन् २००८–०९ र २०१३–१४ को सिजनबाहेक अन्य सिजनमा भने क्रिसमस डे भन्दा अगाडि शीर्ष स्थानमा रहने क्लबले उपाधि जितेका थिए।

संयोग बाँकी दुवै संस्करणमा लिभरपुल क्रिसमस डे अगाडि शीर्ष स्थानमा रहेर पनि उपाधिविमुख रह्यो। ‘नतिजाले खासै फरक पार्दैन। हामी पनि दाबेदार हुन सक्छौं। तर, अन्य टोलीले पनि उत्तिकै मिहिनेत गरेका छन्। अहिले नै यसै भन्न सकिन्न,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘इतिहासले खासै फरक पार्दैन। उपाधिको तय वर्तमानको प्रदर्शनले हुने गर्दछ। चेल्सी र आर्सनलसम्मको सम्भावना खुलै छ।’

एन्फिल्ड टोली लिभरपुलले घरेलु मैदानमा न्युक्यासलसँग बुधबार क्रिसमसपछिको पहिलो खेल खेल्नेछ। लिभरपुलले यस वर्षको अन्तिम खेल २९ डिसेम्बरमा आर्सनलसँग र सन् २०१९ को पहिलो खेल जनवरी ३ मा साबिकको विजेता म्यानचेस्टर सिटीसँग खेल्नेछ।

लिभरपुललाई इङ्लिस प्रिमियर लिगको पहिलो उपाधि दिलाउन यी टोलीविरुद्धको जित पनि अपरिहार्य छ। पछिल्लो समयमा टोटेनह्यामले एभर्टनमाथि ६–२ को रबाफिलो जित निकाल्दै आफूलाई पनि दाबेदारकै रूपमा उभ्याएको छ।
तर, क्लोपले भने एक खेलले नै सबैलाई उपाधिको दाबेदार मान्न नसकिने बताए। ‘मिडियाहरूले उपाधिभित्र को र बाहिर को भनेर कथा बनाइराखेका छन्,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘मलाई लाग्छ, एभर्टनविरुद्ध अन्य टोलीले पनि राम्रो खेलेका छन्। तर, टोटेनह्यामको खेल पनि निकै उत्कृष्ट थियो।’ टोटेनह्यामजस्तै आर्सनल र चेल्सीले पनि राम्रो खेलेको क्लोपको भनाइ छ।

‘त्यसैले कसैले पनि उपाधि होड सुरक्षित गरिसकेका छैनन्। मलाई लाग्छ, टोटेनह्याम कहिले पनि उपाधि होडबाट बाहिर थिएन। त्यसैले एक खेल जित्नेबित्तिकै उनीहरू नै दाबेदार भन्नु ठीक होइन,’ जर्मनी प्रशिक्षक क्लोपले भने, ‘डिसेम्बरसम्म अपराजित रहनु सफलतानजिक पुगिसकेको अवस्था हैन।’

उनले लिभरपुलका समर्थकलाई लिगको शीर्ष स्थानमा रहँदैमा अहिलै नै उपाधि सुरक्षित भएको नसोच्न आग्रहसमेत गरेका छन्। पछिल्लो दश सिजनमध्ये दुई सिजनको डिसेम्बरसम्म लिभरपुल शीर्ष स्थान भए पनि खराब प्रदर्शनका कारण उपाधिविमुख भएको थियो। यी दुवै सिजनको सामना गरेका जेम्स मिल्नर अझै पनि लिभरपुलको टोलीबाट खेलिरहेका छन्।

सन् २०११ र २०१२ मा डर्टमन्डलाई बुन्डेस लिगा उपाधि दिलाएका क्लोपले भने, ‘मलाई लाग्छ, लिभरपुललाई उपाधि दिलाउन सके सबै खेलाडीको पहिलो उपाधि हुनेछ। जसले पहिलो सफलता प्राप्त गरेका हुन्छन् , त्यसैलाई थाहा हुन्छ– वास्तविक उपलब्धि।’

प्रकाशित: ११ पुस २०७५ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App