काठमाडौं – सूर्य नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गत इस्टर्न ओपन बुधबारदेखि धरानमा हुने भएको छ। सूर्य नेपाल प्रालिको आयोजनामा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब एन्ड गल्फ कोर्समा हुनेछन्। स्ट्रोक प्ले फरम्याटका आधारमा हुने तीनदिने प्रतियोगिता कुल ५४ होलमा हुनेछ।
उक्त प्रतियोगितामा कुल ३४ प्रोफेसनल गल्फरका साथै एमेच्योर गल्फरले पनि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि सबै खेलाडी धरान पुगिसकेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १ लाख २० हजार र दोस्रोले ७७ हजार प्राप्त गर्नेछन्। तेस्रो हुने गल्फरले ५५ हजार पाउनेछ।
शीर्ष २१ भित्र पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने आयोजकले उल्लेख गरेको छ। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शिवराम श्रेष्ठ, स्थानीय क्लबका शिवकुमार माझी, सञ्जय लामा र धन थापालगायतले प्रतिस्पर्धा गर्नेछन्। कुल २२ एमेच्योर गल्फरमध्ये डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राई, सुन्दर राई र युवराज भुजेललगायतले एमच्योर ट्रफीका लागि चुनौती प्रस्तुत गर्नेछन्।
३६ होलपश्चात कट नियम लागू गरिनेछ। जसमा २१ प्रोफेसनल गल्फर र ६ एमेच्योर गल्फरले अन्तिम १८ होलका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि आयोजकले ६ लाख ६१ हजार ५ सय नगद पुरस्कार छुट्याइएको जनाएको छ।
प्रकाशित: ११ पुस २०७५ ०४:४८ बुधबार