खेल

इङ्लिश प्रिमियर लिगः वुल्भ्ससँग चेल्सी स्तब्ध

काठमाडौं – इङ्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग उपाधि दाबेदार चेल्सी २–१ ले स्तब्ध भएको छ। हारसँगै चेल्सीले लिगको तेस्रो स्थान पुग्ने मौका गुमाएको छ।

बुधबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेपनि वुल्भ्सले दोस्रो हाफमा नतिजा उल्ट्यायो। ५९ औं मिनेटमा राउल जेमिनिजले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

६३ औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि वुल्भ्सले २–१ को अग्रता लियो। तर, त्यसपछि कुनै गोल नभएपछि वुल्भ्सले महत्वपूर्ण ३ अंक बटुल्यो। हारसँगै १५ खेलबाट ३१ अंक जोडेको चेल्सी चौंथो स्थानमा छ।

१५ खेलबाट १९ अंक जोडेको वुल्भ्स १२ औं स्थानमा उक्लिएको छ। राति नै भएका अन्य खेलमा एभर्टन र न्युक्यासल तथा फुलह्याम र लेस्टरले १–१ को बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: २० मंसिर २०७५ ०६:५८ बिहीबार

रिमियर_लिग_फुटबल वुल्भ्स चेल्सी