खेल

नेपालकै पहिलो भलिबल क्लबः रारा चिनाउन राष्ट्रियस्तरको ‘बीच गेम’ गर्ने

काठमाडौं– नेपालमै पहिलोपटक भलिबल क्षेत्रमा क्लब स्थापना भएको छ। सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएका बेला अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाईंको नेतृत्वमा सोमवार स्थापना भएको ‘रारा नेपाल भलिबल क्लब’ले आफ्नो पहिलो बैठकबाट आगामी वैशाखमा रारा तालकाे किनारमा राष्ट्रिय स्तरको बीच (समुद्री किनारमा खेलिने) भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगितालाई सफल बनाउनबारे प्रदेश सरकारसँग छलफल समेत सुरु भइसकेको छ। 

विशुद्ध भलिबल क्षेत्रमा मात्रै काम गर्ने उद्देश्यसहित खुलेको क्लबले ‘टुरिजम फर भलिबल’ भन्ने नारा बोकेको छ। अध्यक्ष चौलागाईंले पर्यटन प्रवर्द्धन र भलिबल खेलको विकासका लागि क्लब स्थापना गरिएको बताए। ‘पर्यटन क्षेत्र रारालाई विश्वसामु चिनाउन पहिलो बैठकबाटै रारामा टुर्नामेन्ट आयोजनाको निर्णय गरेका छौं’, उनले भने, ‘आगामी दिनमा विभिन्न प्रतियोगितामार्फत विदेशी टिमलाई सहभागी गराएर नेपालमा रहेका हरेक पर्यटन क्षेत्रलाई चिनाउने छौं।’  

आफूहरु नेपाल भलिबल संघसँग सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुने तथा देशैभरका भलिबल गतिविधिमा पनि संलग्न हुने अध्यक्ष चौलागाईंको भनाई छ। 

गाउँमा लुकेर रहेका प्रतिभालाई खोज्नुका साथै हरेक खेलाडीलाई रोजिरोटीको व्यवस्था गर्नका लागि राज्यलाई दबाब सिर्जना गर्ने क्लबले जनाएको छ। ‘खेल अवधि सकिएपछि, खेलाडीबाट रिटायर्ड भइसकेपछि तिनीहरुलाई विभिन्न प्रशिक्षण, कोच र रेफ्री लगायत कुनै न कुनै भूमिकामा इन्गेज गराउने वातावरण बनाउने हाम्रो लक्ष्य छ’, उनले भने, ‘बाहिर (विदेश)का खेलाडी ल्याएर खेलाउने वातावरण पनि बनाउँछौं।’  

को को छन् क्लबमा?

भलिबल र पर्यटनलाई संगसंगै अघि बढाउने उद्देश्यले चौलागाईको अध्यक्षतामा खुलेको क्लबमा सुमन आचार्य र रामचन्द्र लामिछाने उपाध्यक्ष रहेका छन्। महासचिवमा अनिता थापा, सचिवमा भक्तबहादुर रावत, सहसचिवमा नर्पु घले र कोषाध्यक्षमा प्रकाश डाँगी छन्। 

त्यस्तै, सदस्यमा बसन्तसिंह कठायत, विमल कोइराला, टंक प्रसाद चौलागाईं, सुनिता थापा, वीरबहादुर बुढा लगायत रहेका छन्। क्लबले पूर्ण कमिटी गठन गरेर छिट्टै पत्रकार सम्मेलनको तयारी समेत गरेको छ। 

प्रकाशित: ११ मंसिर २०७५ १६:०२ मंगलबार

भलिबल रारा_ताल