खेल

ट्रेल रेसको उपाधि बुढामगर र राईलाई

पोखरामा शनिबार भएको ट्रेल रेसका उपाधि विजेता धावकद्वय बुढामगर (बायाँ) र राई (दायाँ) गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङसँग। तस्बिरः उमेश/नागरिक

पोखरा – पोखरा ट्रेल रेस सिरिजअन्तर्गत मस्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरुषतर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन्। उनले ५५ किलोमिटरको दूरी ६ घण्टा २२ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्।

सोलुखुम्बुका समुन कुलुङ राई  पाँच मिनेटले पछि पर्दै दोस्रो भए। उनले ६ घण्टा २७ मिनेटको समय लगाउँदै मास्टर ट्रेल पूरा गरेका थिए। तेस्रो स्थानमा रहेका झापाका तेजेन्द्र प्रधानले ७ घण्टा १ मिनेटमा दौड पूरा गरे। उनीभन्दा अघि भीमबहादुर नेपाली आइपुगेका थिए। यद्यपि उनले पाँच किलोमिटरको दूरी सर्टकट गरेपछि उनलाई पोखरा ट्रेल रेस रनिङ क्लबले अयोग्य ठहर्यायो।

महिलातर्फको उपाधि संखुवासभाकी सृजना राईले जितिन्। उनले ५५ किलोमिटरको दूरी ८ घण्टा २५ मिनेटमा पूरा गरिन्। सिन्धुपाल्चोककी केन्दो लामाले ८ घण्टा ४० मिनेटको समय लगाउँदै दोस्रो बनिन्।

१५ किलोमिटर पुरुषतर्फको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलका ओम जिसी प्रथम भए। उनले एक घण्टा २८ मिनेटको समयमा दूरी पार गरे। नेपाली सेनाका धावक खड्गबहादुर आले दोस्रो स्थानमा रहे। उनले उक्त दूरी १ घण्टा ३५ मिनेटमा पूरा गरे। गणेश अधिकारीले १ घण्टा ३८ मिनेटको समयमा दूरी पूरा गर्दै तेस्रो भए।

महिलातर्फ सोही इभेन्टमा भोजपुरकी अनिता राईले उपाधि जितिन्। उनले २ घण्टा २८ मिनेटको समय लगाइन्। नर्वेकी मित्रा सेडले ३ घण्टा ४५ मिनेटको समयमा पूरा गर्दै दोस्रो भइन्। ५५ किलोमिटर दौड विजेता महिला तथा पुरुषले नगद ३०, १५ र ७ हजार रुपैयाँ प्राप्त गरे भने १५ किलोमिटर दौडका प्रतिस्पर्धी विजेतालाई ५, ३ र २ हजार नगद प्रदान गरिएको थियो।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल तथा क्लबका अध्यक्ष विकास गुरुङलगायतले पदक तथा प्रमाणपत्रसहित नगद हस्तान्तरण गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७५ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App