खेल

हाइअल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि ढोरपाटनमा जग्गा खोजी

हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र स्थापनको लागि हेरिएको ढोरपाटनको क्षेत्र । तस्बिर सौजन्य : प्रनिस ताम्राकार

पोखरा – राष्ट्रिय खेलकुद परिषद्ले बागलुङको ढोरपाटनमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन आवश्यक स्थलगत निरीक्षण गरेको छ । ढोरपाटनको एकै वडाका विभिन्न तीन ठाउँमा जग्गा अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वमा गएको पाँच सदस्यीय टोली फर्किएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा गएको टोलीले सम्भाव्यता अध्ययन गरी फर्किएको हो । ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्रको जग्गासमेत हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन अध्ययन गरी फर्किएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘ढोरपाटन  नगरपालिका वडा नं ९ स्थित जग्गा हेरिएको छ,’ उनले अध्ययनबाट फर्किएपछि भने,‘तीनमध्ये एक ढोरपाटन सिकार आरक्षणभित्रको एउटा छेउ हो ।  बाँकी सबै ढोरपाटन भ्यालीका सरकारी पर्ती जग्गा हुन्।’

पहिलो हेरिएको जग्गा २ हजार रोपनी क्षेत्रफलको फाँट हो, जुन ढोरपाटन भ्यालीमा पर्छ । त्यसपछि ४० रोपनीको अर्को स्थल हेरिएको उनले सुनाए । त्यसपछि सिकार आरक्षण क्षेत्रभित्रको झन्डै १ सय रोपनी हेरेर फर्किएको क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक इन्जिनियर प्रनिस ताम्राकारले सुनाए । सम्भाव्यता अध्ययन र आवश्यक सर्भेका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर विनियोजित रकम भने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा आइसकेको छैन।

परिषद्ले मनाङको तिमाङमा हाइ अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गरिसकेको छ । एक करोड ४३ लाखको लागतमा फुटबल मैदानसहितको तालिम केन्द्र बनाइएको हो । गण्डकी प्रदेश सरकारले पनि मुस्ताङमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्ने जनाउँदै आएको छ।

‘वडाले ब्लु प्रिन्टसहित भोगाधिकारको पत्र खेलकुदलाई दिएको अवस्थामा आवश्यक सर्भेसहित डिपिआर बनाउनेछौं,।’

ढोरपाटन क्षेत्र पोखरादेखि २ सय ४ किलोमिटरको दुरीमा छ । पोखरादेखि बागलुङ ७२ किलोमिटरको दूरीमा पर्छ । बाग्लुङदेखि बुर्तिबाङ एक सय किलोमिटर र बुर्तिबाङदेखि ढोरपाटनसम्म ३२ किलोमिटरको दूरी छ । ढोरपाटन समुद्री सतहदेखि झन्डै २ हजार ८ सय मिटरको उचाइमा पर्छ।

हाई अल्टिच्युड खेलकुद तालिम केन्द्रको लागि फुटबलका ट्य्राक एन्ड फिल्ड, एकेडेमिक भवन, होस्टेल ब्लक, मेडिकल, फिटनेस सेन्टर, अनुसन्धान केन्द्रलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । ‘अर्बैं रुपैयाँको प्रोजेक्ट हुन्छ,’ प्राविधिक ताम्राकारले भने ‘पूर्वाधारअनुसार लगानी बढ्दै जान्छ।’

प्रधानमन्त्रीले ढोरपाटन क्षेत्र भ्रमणको समयमा खुला ठाउँ देखेपछि खेतीका लागि सर्वसाधारणसँग आग्रह गरेका थिए। तर पर्ती जग्गा भएकाले उपयोग गर्न नपाएको जानकारी दिएपछि प्रधानमन्त्रीले खेलकुद मन्त्रालयमार्फत खेलकुदको हाई अल्टिच्युड तालिम केन्द्र निर्माणको लागि सल्लाह गरेपछि अध्ययन सुरु गरिएको थियो।

ढोरपाटन नगरपालिका वडा नं ९ ले सम्बन्धित जग्गाको भोगचलन लिखित रूपमा खेलकुद मन्त्रालयको मातहतमा आएको अवस्थामा सर्भेको काम अघि बढाइने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले सुनाए । ‘वडाले ब्लु प्रिन्टसहित भोगाधिकारको पत्र खेलकुदलाई दिएको अवस्थामा आवश्यक सर्भेसहित डिपिआर बनाउनेछौं,’ उनको भनाइ थियो।

स्थलगत अध्ययनका लागि श्रेष्ठसँगै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन परियार तथा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपकबहादुर गोदारको टोली ढोरपाटन पुगेर फर्किएको थियो।

प्रकाशित: २७ कार्तिक २०७५ ००:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App