खेल

नेपाल कमजोर टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

फाइल फाेटाे

काठमाडौं – थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को तेस्रो खेलमा नेपालले आइतबार (आज) तुलनात्मक रुपमा कमजोर टोली पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २ः४५ देखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित नेपालले दोस्रो खेलमा भारतलाई २–० ले हराउँदै अघिल्लो चरण गर्ने सम्भावना बलियो बनाएको थियो। पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेको छ।  पाकिस्तान पहिलो खेलमा थाइल्याण्ड र दोस्रो खेलमा भारतसँग समान १८–० को फराकिलो अन्तरले हारेको थियो। त्यसैले पनि नेपालका लागि आजको खेलमा पाकिस्तालाई पराजित गर्न ठूलो संघर्ष गर्नुपर्ने देखिदैन्।

तर नेपालकी स्ट्राइकर रेखा पौडेल आजको खेलमा मैदानमा देखिने छैनन्। उनले पहिलो र दोस्रो खेलमा पहेलो कार्ड पाएका कारण एक खेलको प्रतिबन्ध लागेको छ। केही समयअघि भुटानमा भएको यु–१८ साफ च्याम्पियनसियमा नेपालले यही टोलीलाई १२–० ले पराजित गरेको थियो। त्यसैले पनि नेपाली टोली उच्च मनोवलका साथ मैदानमा उत्रदैछ।

समुह ‘बी’ मा थाइल्याण्ड, नेपाल र भारतको समान ३ अंक छ। पाकिस्तान भने अंक बिहीन छ।  ३० टोलीले  पहिलो चरणको छनोटमा सहभागिता जनाएका छन्।

२०१७ को संस्करणमा गरेको प्रदर्शनको आधारमा जापान, उत्तर कोरिया र चीन भने यसअघि नै अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। अन्तिम चरणको खेल थाइल्यान्डमा नै हुनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसमध्ये प्रत्येक समूको शीर्ष एक टोली अन्तिम चरणमा प्रवेश गर्नेछ। त्यस्तै दुई उत्कृष्ट उपविजेता टोलीले पनि अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। दोस्रो चरणका खेलहरू अप्रिलमा हुनेछ।

प्रकाशित: ११ कार्तिक २०७५ ०५:११ आइतबार

यु–१९_महिला_च्याम्पियनसिप फुटबल नेपाल_पाकिस्तान