खेल

इंगल्याण्ड तथा चेल्सीका पूर्व कप्तान टेरीद्वारा सन्यासकाे घाेषणा

काठमाडाैं - इंगल्याण्ड तथा चेल्सी क्लबका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यास लिएका छन्। ३७ वर्षीय डिफेन्डर टेरीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सन्यासको घोषणा गरेका हुन्। अन्तिम खेल एस्टन भिल्लाबाट खेलेका टेरी त्यसपछि भने क्लब विहिन रहेका थिए। सन्यासको घोषणा गर्दै टेरीले आफ्नो २३ वर्षे फुटबल करीयर जीवनकै उत्कृष्ट क्षण रहेको बताए। उनले यो समय सन्यासका लागि उपयुक्त रहेकोले आफुले सन्यासको घोषणा गरेको बताए। क्लबबाट कुल ७ सय १७ खेल खेल्ने क्रममा आफ्ना सहकर्मी, कोच तथा समर्थकहरुबाट पाएको साथ सहयोग र मायाका लागि उनले धन्यवाद व्यक्त गरे।

इंगल्याण्डका लागि ७८ खेल खेलेका टेरीले आफ्नो खेल जीवनको दुई दशक इङ्लिश क्लबमा विताए। उनले सन् २०१७ मा चेल्सी क्लब छोडेका थिए। उनले चेल्सीमा रहँदा क्लबलाई पाँच प्रिमियर लिग उपाधि, पाँच एफए कप उपाधि एक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। 

 

प्रकाशित: २२ आश्विन २०७५ ०९:४० सोमबार

जोन_टेरी सन्यास