खेल

लिगलिगे दौड आगामी २८ गते

काठमाडौं – दशैंको पूर्वसन्ध्यामा हरेक वर्ष गोरखामा आयोजना हुने नवौं संस्करणको लिगलिगे दौड प्रतियोगिता आगामी असोज २८ गते हुने भएको छ । मंगलबार आयोजक लिगलिग कोट विकास अभियानले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष आयोजना हुँदै आएको दौड प्रतियोगिता असोज २८ गते आइतबार हुने जानकारी गराएको हो।

निर्धारित १३.८ किलोमिटर दौड पार गर्दैे विजेता हुने धावक एक दिनका लागि लिगलिगे कोटको राजा बन्नेछ भने एक वर्षका लागि लिगलिग कोटको सद्भावना दूत बन्ने आयोजकले बताएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय भूमिलाई आधुनिक शैलीबाट पर्यटन विकास गर्न टेवा पुग्ने गरी लिगलिगे दौड  आयोजना गर्न लागिएको अयोजकले जानकारी दियो । 

मर्स्याङ्दी नदीको किनार चेपेघाटबाट सुरु हुने दौडमा २ सय धावकले प्रतिस्पर्धा गर्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा खुला, महिला, विद्यालयका छात्रछात्रा र स्थानीय गरी ४ विधामा सहभागी धावकले प्रतिस्पर्धा गर्नेछन् । खुलातर्फ र स्थानीयले १३.८ किलोमिटरको दूरी पूरा गर्नुपर्नेछ भने महिला सहभागीले ५ किलोमिटरको दूरीमा प्रतियोगितामा सहभागिता जनाउनुपर्नेछ । त्यस्तै, विद्यालयका छात्रछात्राले ३ किलोमिटर दौडने लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए  । 

प्रतियोगिताको खुलातर्फको विजेताले ६० हजार एक सय रुपैयाँ नगदसहित श्रीपेच, पगरी, ट्रफी, लिगलिगकोटको राजदूतको ब्याच, एक रात लिगलिगमा लिगलिगे राजाका रूपमा राखिने र राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने अभियानका अध्यक्ष रानाले बताए । प्रतियोगितामा सहभागी धावकका लागि यो संस्करणमा पुरस्कार राशि पनि बढाएको छ । 

त्यस्तै, दोस्रोले ३५ हजार एक सय, तेस्रोले २५ हजार १ सय, चौथोले १२ हजार १ सय र पाँचांैले ७ हजार १  सय  रुपैयाँ प्राप्त गर्नेछन् ।  छैटौं, सातौं, आठौं र नवौं हुनेले क्रमशः ५ हजार १ सय, चार हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय हात पार्नेछन् । 

महिलातर्फ र स्थानीय लिगलिगबासीका लागि प्रथम हुनेलाई २० हजार पाँच, दोस्रो हुनेलाई १२ हजार पाँच, तेस्रो हुनेलाई ७ हजार ५ बाट पुरस्कृत गरिनेछ । 

त्यस्तै, विद्यालयका छात्रछात्रातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय पाउनेछन् । 

दौडमा सहभागी हुने धावकको ७ लाख बराबरको बिमा गरिने अयोजकले जानकारी दियो । द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ ।

 

प्रकाशित: १६ आश्विन २०७५ २३:४५ मंगलबार

लिगलिगे_दौड गोरखा