खेल

एपिएफ र चितवनबीच फाइनल

एपिएफविरुद्ध सट प्रहार गर्र्दै न्यु डायमण्डकी प्रतिभा माली । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – विभागीय टोली एपिएफ क्लब र चितवन टाइग्रेस राजधानीमा जारी आधीआवादी महिला भलिबल प्रतियोगिताकोे उपाधिका भिड्ने भएका छन्। 

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको सेमिफाइनल खेलमा एपिएफले न्यु डायमन्डलाई पराजित गरेको हो भने  चितवनले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो। 

एपिएफले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गर्दा सबै तीन सेट निकै रोमाञ्चक बनेका थिए । पहिलो सेटमा ३–९ को अग्रतालाई रोक्दै एपिएफले डायमन्डमाथि २५–२२ को जित  दर्ता गरेको थियो । दोस्रो सेटमा २६–२४ को प्रतिस्पर्धात्मक जित निकालेको एपिएफले अन्तिम सेटमा २५–२३ को जित हात पार्दै फाइनलमा चितवनसँगको भेट पक्का गरेको थियो। 

मंगलबारै सम्पन्न अर्को सेमिफाइनल खेलमा चितवन टाइग्रेसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । तीन विदेशी खेलाडी रहेको चितवनले पहिलो सेटमा २५–११ को सहज जित निकाल्न सफल भएको थियो । दोस्रो सेटमा २५–१४ र अन्तिम सेटमा चितवनले २५–२३ को संघर्षणपूर्ण जित निकाल्दै अन्तिम यात्रा तय गरेको थियो। 

प्रतियोगिताको फाइनल बुधबार हुनेछ । यस्तै बुधबारै न्यु डायमन्ड र नेपाल पुलिस क्लब तेस्रो स्थानका लागि भिड्नेछन् ।६ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको लिगका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गरेका थिए।

प्रतियोगिताको विजेताले ६ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र तेस्रोले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार रुपैयाँ हात प्राप्त गर्नेछ। 

प्रकाशित: १६ आश्विन २०७५ २३:३८ मंगलबार

आधीआवादी_महिला_भलिबल एपिएफ_चितवन_टाइग्रेस