खेल

न्यु डायमन्ड र चितवन टाइग्रेस सेमिफाइनलमा

काठमाडौं – न्यु डायमन्ड एकेडेमी र चितवन टाइग्रेस राजधानीमा जारी आदिआवादी महिला भलिबल (एभिएल) प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो सेटमा २५–१५ को सहज जित निकालेको डायमन्डले दोस्रो र तेस्रो सेट गुमाएको थियो । २२–२५ ले दोस्रो सेट गुमाउँदा तेस्रोमा पनि आर्मीलाई डायमन्डले १८–२५ को नतिजा सुम्पिएको थियो । २–१ ले पछि परेको डायमन्डले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । दुवै सेट जित्नै पर्ने दबाबमा परेको न्यु डायमन्डले चौथो सेट २५–२२ ले जितेपछि पाँचांै सेटमा आर्मीलाई १५–११ को सेटमा रोक्दै सेमिफाइनलमा स्थान बनाएको हो । जितपछि डायमन्ड एक खेलअगावै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो खेलमा चितवन टाइग्रेससँग ३–० को सेटमा पराजित भएको आर्मी लगातार दोस्रो पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’बाट एक–एक खेल जितेका न्यु डायमन्ड र चितवन टाइग्रेसको आपसी भिडन्तबाट समूहविजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

नेपाल भलिबल संघ र आदीआवादी फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा विभागीय क्लब एपिएफले  विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग-यो । पहिलो सेट २५–१९ ले जितेको एपिएफले दोस्रो सेटमा २५–२२ र अन्तिम सेटमा २५–२० को जित निकाल्न सफल भएको थियो।

३ विभागीय टोलीसहित ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले १ लाख ५० हजार पुरस्कार पाउनेछन्।

प्रकाशित: १५ आश्विन २०७५ ०२:५८ सोमबार

न्यु_डायमन्ड_एकेडेमी भलिबल