बर्लिन – अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका जर्मनीका मेसुट ओजिललाई भेट्न आर्सनलको प्रशिक्षण स्थल पुगेका जर्मनीका प्रमुख प्रशिक्षक जोचिम लोउलाई सोमबार प्रशिक्षण स्थल प्रवशेका रोक लगाइएको छ।
लन्डनमा भएको साताव्यापी फिफा कंग्रेसको बैठकमा भाग लिन गएका प्रशिक्षक लोउ र जर्मनी टोलीका निर्देशक ओलिभर बियरहोफ आर्सनलको प्रशिक्षणस्थल कोल्नीमा ओजिलसँग भेट्ने योजना बनाएर भ्रमणका लागि निस्किएका थिए।
जर्मनका सञ्चारमाध्यमले प्रशिक्षक लोउ र बियरहोफ प्रशिक्षण स्थलको प्रवशेस्थलबाट फर्किनुपरेको समाचार प्रकाशित गरेका थिए । उक्त समयमा आर्सनलका प्रशिक्षक युनेई इमिरेले टोलीलाई सामान्य अभ्यास गराइरहेका थिए।
लोउ र बियरहोफको भ्रमण पहिले नै तय गरिएको थियो । भ्रमणका लागि आर्सनल पुगेका उनीहरूले पाहुना कक्षमा आफ्ना अन्तर्राष्ट्रिय खेलाडी बन्र्ड लिनो र शोकोद्रार्न मुस्ताफीलाई भेटेर ओजिललाई नभेटी फर्किएका थिए।
‘हामी ओजिलसँग कुरा गर्न चाहन्थ्यौं तर ओजिलले हामी भेट्न नचाहेको अवस्थालाई स्विकार्न पर्याे,’ निर्देशक बियरहोफले भने।
निर्देशक बियरहोफसँग भ्रमणअघि ओजिलका एजेन्ट इरकुट सोगुटले भेटका लागि स्वीकार गरे पनि अन्तिम समयमा भेट्न नसक्नुको कारण भने बताएका छैनन् । सेप्टेम्बर महिनाको सुरुआतमा प्रशिक्षक लोउले ओजिलसँगको भेटका लागि प्रयास गरे पनि असफल भएका थिए।
जर्मनीका लागि ९२ अन्तर्राष्ट्रिय खेल खेलको ओजिलले २३ गोल गरेका छन् भने ४० गोल असिस्ट गरेका छन् । ओजिलले रूसमा सम्पन्न विश्वकपपछि रंगभेदी व्यवहार र अपमान महसुस भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । उनले जर्मन फुटबल एसोसिएसन (डिएफबी) र राष्ट्रपति रेनहार्ड ग्रिनडेलसँग असन्तुष्टि व्यक्त गरेका थिए।
‘राष्ट्रपति र समर्थकको आँखामा जर्मनीले उपाधि जित्दा म जर्मनीको हुने र उपाधि जित्न नसक्दा आप्रवासी हुने,’ २०१४ को विश्वकप विजेताका टोली सदस्य ओजिलले संन्यासको क्रममा यस्तो असन्तुष्टि जनाएका थिए । ओजिल जर्मनीमा जन्मिएका हुन् भने उनका अभिभावक टर्कीबाट आएका हुन्।
रंगभेदी र अपमानजनक अभिव्यक्तिबाट सामाजिक सन्जालमा आलोचना भएपछि २९ वर्षीय ओजिलले संन्यासको घोषणा गरेका थिए । यद्यपि जर्मन प्रशिक्षक लोउ र केही समर्थकबाट साथ पाएका थिए । लोउले खुलेरै सार्वजनिक रूपमा ओजिलको समर्थन गरेका थिए।
प्रकाशित: १० आश्विन २०७५ २३:५८ बुधबार