खेल

एपिएफलाई ढोरपाटन भलिबल उपाधि

पाँचाै ढाेरपाटन खुला पुरूष भलिबल प्रतियाेगिताकाे उपाधिका साथ एपीएफका खेलाडी । तस्बिरः सुमन/नागरिक

काठमाडौं – विभागीय टोली एपिएफले शनिबार पाँचौं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।गोंगबुस्थित ढोरपाटन स्पोर्टस् सेन्टरको कोर्टमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । पहिलो सेटमा २५–१९ को जित निकालेको एपिएफले दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। 

एपिएफले यो वर्ष दोस्रो उपाधि जितेको हो । गत जेठमा इटहरीमा सम्पन्न सांसद कपमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै टोलीले यो वर्षका लागि पहिलो उपाधि उचालेको थियो । गण्डकी प्रदेशलाई स्तब्ध बनाउँदै उपाधिमा कब्जा जमाएको  एपिएफले नगद १ लाख रुपैयाँ हात पारेको छ । यस्तैउपविजेता बनेको गण्डकी प्रदेशले नगद ६० हजार हात पार्याे। 

खेलको सुरुआतबाट नै विपक्षी टोलीलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पार्ने रणनीति सफल भएको एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले बताए । ‘हाम्रो बलियो पक्ष स्पाइक र ब्लक हो । त्यसलाई सदुपयोग गर्दै खेल्ने रणनीति बनाएका थियौं, सोही योजनाअनुसार  सफल बन्यौं,’ प्रशिक्षक विष्टले भने, ‘विपक्षी टोलीमा स्पाइकरको कमी थियो, अनि उनीहरूको ब्लक पनि राम्रो थिएन । हाम्रा खेलाडीले उनीहरूको कमजोर पक्षको पहिचान गर्दै उत्कृष्ट खेल देखाए।’
यस्तै एपिएफका कप्तान महेन्द्र श्रेष्ठले प्रशिक्षकको रणनीतिअनुसार खेल्दा उपाधिको हकदार बनेको बताए। 

‘हाम्रो बलियो पक्ष स्पाइक र ब्लक हो । त्यसलाई सदुपयोग गर्दै खेल्ने रणनीति बनाएका थियौं, सोही योजनाअनुसार  सफल बन्यौं।’

‘स्पाइक र ब्लक हाम्रो टोलीको सबल पक्ष थियो, त्यसलाई सदुपयोग गर्ने रणनीति सफल भयो,’ कप्तान श्रेष्ठले भने, ‘टोलीका सबै खेलाडीले उत्कृष्ट खेले र तुलनात्मक हिसाबले विभागीय टोलीभन्दा अन्य टोलीसँग खेल्दाको अनुभव केही सहज थियो । आज पनि त्यस्तै भयो र जित निकाल्न सफल बन्यौं।’

यसअघि शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा नयाँ बजारको क्लब गीताञ्जलीले बागलुङको ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–२२ ले जितेको गीताञ्जलीले दोस्रो सेटमा ३०–२८ को रोमाञ्चक जित हात पारेको थियो । तेस्रो तथा अन्तिम सेटमा भने टोली २५–१५ ले विजयी भयो । प्रतियोगितामा तेस्रो बनेको गीताञ्जलीले नगद ३५ हजार रुपैयाँ हात पार्याे। 

१६ टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगिताका शीर्ष दुई टोली क्वार्टरफाइलन प्रवेश गरेका थिए । यती ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंक्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगितामा उत्कृष्ट विधातर्फ एपिएफका खेलाडीको वर्चस्व रह्यो । एपिएफका दिनेश गिरी उत्कृष्ट सेटर बन्दा एपिएफकै टेकराज अवस्थी उत्कृष्ट स्पाइकर घोषित भए । यस्तै उत्कृष्ट क्विकर एपिएफका बलिराम चौधरी घोषित हुँदा सर्वोत्कृष्ट खेलाडी एपिएफका कप्तान महेन्द्र श्रेष्ठ चुनिए।

प्रतियोगितामा उत्कृष्ट सर्भर गीताञ्जलीका दौलत सिंह घोषित हुँदा गण्डकी प्रदेशका राजन दर्लामी मगर उत्कृष्ट डिफेन्स र गण्डकीकै हरि पाण्डे उत्कृष्ट ब्लकर चुनिए । उत्कृष्ट सबैले नगद ५÷५ हजार रुपैयाँ हात पारे भने सर्वोत्कृष्ट बनेका महेन्द्रले मोटरसाइकल प्राप्त गरे। 

प्रकाशित: ७ आश्विन २०७५ ०४:२७ आइतबार

ढोरपाटन_भलिबल एपिएफ उपाधि