खेल

एसिया कप क्रिकेट : अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं – अफगानिस्तानलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गर्दै पाकिस्तानले एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा जित हात पारेको छ। जितसँगै पाकिस्तानले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

युएईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानले जितका लागि दिएको २ सय ५८ रनको विजयी लक्ष्य पाकिस्तानले ४९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाउदा बाबर आजमले ६६ रनको योगदान दिए। १०४ बल खेलेका हकले ५ चौंका र १ छक्का प्रहार गर्दा ९४ बलको सामना गरेका बाबरले ४ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अर्का ब्याट्सम्यान शोएब मलिकले ५१ रन बनाए। अफगानिस्तानका लागि राशिद खानले ३, मुजिब अर रहमानले २ तथा गुलाबदिन नाइबले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो।  अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ९७ रन बनाए। शतक बनाउन मात्र ३ रनले चुकेका साहिदीले ११८ बलको सामना गर्दै ७ चौंका प्रहार गरेका थिए। त्यस्तै कप्तान असगर अफगानले ६७, रहमत साहले ३६ र मोहम्मद सेहजादले २० रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन।

पाकिस्तानका लागि मोहम्मद नवाजले ३, साहिन अफ्रिदीले २ तथा असन अलीले एक विकेट लिए। एसिया कपमा उत्कृष्ट प्रदर्शन गरिरहेको अफगानिस्तानले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो। अफगानिस्तानले आइतबार बंगलादेशसँग खेल्नेछ।

प्रकाशित: ६ आश्विन २०७५ ०५:५५ शनिबार

एसिया_कप_क्रिकेट रोमाञ्चक_खेल पाकिस्तान