खेल

गण्डकी र थ्री स्टार क्वार्टरफाइनलमा

काठमाडौं – गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

गोंगबुस्थित ढोरपाटन स्पोर्ट्सको कोर्टमा भएको खेलमा गण्डकी समूह ‘डी’ को विजेता तथा थ्री स्टार एकेडेमी समूह ‘सी’ को विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेका हुन्। 

पाल्पालाई गण्डकीले समूहचरणको अन्तिम खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै समूहविजेता बनेको हो । पहिलो सेटमा २५–१४ को सहज जित निकालेको गण्डकीले दोस्रो सेट २५–१५ ले आफ्नो पक्षमा सफल भएको थियो । निर्णायक तथा अन्तिम सेटमा पाल्पालाई २५–१९ को जित निकाल्दै सोझो सेटमा जित दर्ता गराएको हो। 

समूहचरणका सबै तीन खेलमा जित हात पारेको गण्डकीको ९ अंक भएको छ । समूहबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । मंगलबारै सम्पन्न पहिलो खेलमा पाल्पाले धादिङमाथि २५–८, २५–११, २५–८ को सहज जित निकालेको थियो । तर, आफ्नो दोस्रो खेलमा भने पराजित बन्यो। 

यस्तै, मंगलबारै सम्पन्न अर्को खेलमा थ्री स्टारले समूहचरणको अन्तिम खेलमा सूर्यदीप कलेजलाई २५–१६, २५–१३, २५–१५ को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश गर्दा बडिगार्ड गाउँपालिकाले सूर्योदय क्लबमाथि ३–१ को जित निकाल्न सफल भयो। 

प्रतियोगिताअन्तर्गत बुधबार समूहचरणका अन्तिम खेल हुनेछन् । समूह ‘बी’ को अन्तिम खेलमा सूर्योदय क्लबले एपिएफको सामना गर्नेछ । ढोरपाटन ‘ए’ ले बेल्कु धादिङ, चितवन टाइगरले पाल्पा, सूर्यदीप कलेजले बुढानीलकण्ठ र ग्ल्यासियर कलेजले बडिगार्ड गाउँपालिकासँग खेल्नेछन्। 

प्रकाशित: २ आश्विन २०७५ २३:४० मंगलबार

पुरुष_भलिबल गण्डकी_प्रदेश थ्री_स्टार_एकेडेमी क्वार्टरफाइनल