खेल

बाग्लुङमा महिला राष्ट्रिय भलिबल हुने

काठमाडौं – महिला राष्ट्रिय भलिबल प्रतियोगिताको २२औं संस्करण असोज २३ गतेबाट बाग्लुङको गलकोटमा हुने नेपाल भलिबल संघले जनाएको छ। 

बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन तथा गल्कोट नगरपालिकाको सहयोगमा हुने प्रतियोगिता असोज २७ गतेसम्म चल्नेछ । लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहने छ। 

संघको वार्षिक क्यालेन्डरअनुसार आयोजना हुन लागेको प्रतियोगिताका उत्कृष्ट २४ खेलाडी छनोट गरेर राष्ट्रिय टोली बनाउने महासचिव जितेन्द्रबहादुर चन्दले बताए। 

‘भलिबल संघको विकेन्द्रिकरण नीतिअनुसार २२औं राष्ट्रिय महिला भलिबल बाग्लुङमा आयोजना गर्न लागेका हौं,’ महासचिव चन्द थपे, ‘प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी आयोजकले लिनेछ । संघले प्राविधिक समन्वय मात्र गर्ने हो।’

गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले जिल्लाका भलिबल पारखीलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले थपे, ‘भलिबल बाग्लुङ क्षेत्रको लोकप्रिय खेल हो । त्यसकारण हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं।’  

भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले अन्य नगरपालिकाले पनि यस्ता प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने हो भने राष्ट्रिय खेलको सम्मान हुने बताए। 

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ । तेस्रो हुनेले नगद २० हजार रुपैयाँ हात पार्नेछ । उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, लिबेरो र ब्लकरले ५–५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

 

प्रकाशित: ३० भाद्र २०७५ ०५:०३ शनिबार

महिला_राष्ट्रिय_भलिबल बाग्लुङ