डब्लिन – पिटर चेकले निर्धारित समय र पेनाल्टी सुटआउटमा गरी दुई पेनाल्टी प्रहार रोकेको दिन बिहीबार आर्सनलले अभ्यास खेलमा चेल्सीमाथि पेनाल्टी सुटआउटमा ६–५ को विजयी नतिजा निकालेको छ।
चेकले पहिलो हाफमा अल्भारो मोराटाको पेनाल्टी रोकेका थिए भने पेनाल्टी सुटआउटमा चेल्सीका रुबेन लोफ्टस–चेकको प्रहार रोक्दै आर्सनलको जित पक्का गरेका थिए।
खेलको पाँचाैं मिनेटमा रक्षक एन्टोनियो रुडिगरले सेस फ्याब्रिगासको पासमा गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यमा चेल्सीले अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएको थियो । तर मोराटाको पेनाल्टी रोक्दै चेकले चेल्सीलाई निराश पारेका थिए । आर्सनलका हेक्टर बेलारिनले स्ट्राइकर कालुम हुडसन–ओडियोलाई लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो।
तर खेल सकिन १७ सेकेन्ड बाँकी रहँदा एलेक्जान्डर लाकाजेटले गरेको गोलमा आर्सनलले खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो । लाकाजेटले रेसी नेल्सनको पासलाई पोस्टको दिशा दिएका थिए । पेनाल्टी सुटआउटमा दुवै क्लबका पाँच खेलाडी गोल गर्न सफल भए पनि छैटाैं पेनाल्टीमा भने रुबेन असफल बने।
पेनाल्टी सुटआउटमा दुवै क्लबका पाँच खेलाडी गोल गर्न सफल भए पनि छैटाैं पेनाल्टीमा भने रुबेन असफल बने।
माउरिसियो सारीको टोलीले आइतबार कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीको सामना गर्दै छ। आार्सनलमाथि जितका साथ आइतबार उच्च मनोबलका साथ वेम्बलीमा उत्रने सारीको लक्ष्यले भने पूर्णता पाउन सकेन । नयाँ सिजन सुरु हुन केही साता मात्र बाँकी हुँदा एरोन रामसे र सेड कोलासिकानको चोट भने आर्सनलका प्रशिक्षक युनेइ इमिरेका लागि चिन्ताको विषय बनेको छ।
चेल्सीविरुद्धको खेलका लागि पहिलो रोजाइमा समावेश गरिए पनि खेलअघिको अभ्सासमा मांसपेशीमा समस्या देखिएपछि रामसे बेन्चमा बस्न बाध्य भएका थिए । त्यस्तै कोलासिनाक खेलदौरान चेल्सीका भिक्टर मोसेससँग जुध्दा घुँडामा चोटका कारण मैदानबाट बाहिरिएका थिए । दुवै खेलाडीको थप स्वास्थ्य परीक्षण हुन बाँकी छ।
‘रामसे र कोलासिनाकको थप स्वास्थ्य परीक्षण हुन बाँकी छ,’ इमिरेले भने, ‘रामसेको चोट गम्भीर नदेखिए पनि कोलासिनाकको चोट भने गम्भीर देखिएको छ । चिकित्सकसँगको परामर्शपछि मात्र उनीहरू कहिलेसम्म मैदानबाहिर रहनेबारे निर्णय लिइनेछ।’
चेल्सीका प्रशिक्षक सारीले टोलीले बिस्तारै लय भेट्टाउने भन्दै आर्सनलसँगको हारबाट नआत्तिने बताए।
‘हामीले पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै अग्रता समेत लिएका थियौं,’ सारीले भने, ‘तर अन्तिम समयमा सम्हालिन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलियो र जुन हाम्रा लागि दुर्भाग्य बन्यो।’
‘उनी राम्रा स्ट्राइकर हुन् र उनले नयाँ सिजन पहिलो रोजाइमा स्थान बनाउनेमा कुनै दुबिधा छैन,’ हुडसन–ओडियाका बारेमा सोधिएको प्रश्नमा सारीले भने।
प्रकाशित: १८ श्रावण २०७५ ०४:२३ शुक्रबार