खेल

म्याथ्युजले बलिङ नगर्ने

धाम्बुला – श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने एकदिवसीय शृंखलामा बलिङ नगर्ने प्रस्ट पारेका छन्।

जनवरीमा पुनः एकदिवसीय टोलीमा कप्तानीको जिम्मवारी पाएका म्याथ्युज पछिल्लो केही महिनायता चोटसँग जुधिरहेका छन् । म्याथ्युजले गत वर्ष टोलीले गतिलो प्रदर्शन गर्न नसकेको भन्दै आलोचित भए पनि अहिले भने टोली लयमा फर्किसकेको बताए । श्रीलंकाले गत आइतबार १२ वर्षपछि पहिलो पटक दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला क्लिनस्विप गरेको थियो।

“हामीले सीमित ओभरका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छाैं र दक्षिण अफ्रिकाविरुद्ध पनि सोही लयले निरन्तरता पाउनेमा आशावादी छाैं,” म्याथ्युज, “टेस्ट शृंखलामा हामीले दक्षिण अफ्रिकालाई पूर्ण रूपमा दबाबमा राख्यौं र एकदिवसीय शृंखलामा पनि उक्त दबाब दिनेमा पनि हामी आशावादी छौ।”

१ सय ९६ खेलमा १ सय १४ विकेट लिएका म्याथ्युजले आफू पूर्ण रूपमा फिट नभएकाले दक्षिण अफ्रिकाविरुद्ध बलिङ नगर्ने प्रस्ट पारे।

“म दक्षिण अफ्रिकाविरुद्धको शृंखला अवधिभर बलिङ गर्दिनँ, म्याथ्युजले भने, पूर्ण रूपमा फिट नभएकाले बलिङ गर्ने जोखिम म उठाउन चाहन्नँ।”

म्याथ्युजले ओपनर धनुस्का गुणथिलकामाथि लगाइएको प्रतिबन्धको निर्णयले निराश भएको बताए । तर उनले टोलीमा कुनै एक खेलाडीको उपस्थितिभन्दा पनि अनुशासन मुख्य प्राथमिकता भएको बताए।

श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) ले शुक्रबार खेलभावनाविपरीत व्यवहार गरेको भन्दै ओपनर धनुस्का गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाएको थियो।

श्रीलंकाली टोली बसेको होटलमा गत आइतबार भएको बलात्कारको घटनामा प्रहरीले गुणथिलकासँग सोधपुछ गरेको थियो । गुणथिलकाका साथी सन्दीप जुडे सेलेहालाई प्रहरीले होटलमा एक नर्वेजियन महिलामाथि बलात्कार गरेको भन्दै पक्राउ गरेको थियो। 

होटलका सुरक्षा गार्डले आइतबार गुणथिलका र उनका साथी दुई नर्वेजियन महिलाका साथ होटलमा आएको प्रहरी बयानमा बताएपछि उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको थियो । यद्यपि प्रहरीले गुणथिलकासँग घटनाका बारेमा सोधपुछ मात्र गरेको र उनी दोषी नरहेको प्रस्ट पारिसकेको छ।

गुणथिलकाको स्थानमा अलराउन्डर सेहान जयसूर्याले खेल्ने बताइएको छ ।त्यस्तै प्रभात जयासूर्यालाई पनि टोलीमा पहिलो पटक समावेश गरिएको छ । श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध ५ एकदिवसीय शृंखला र एक ट्वान्टी–२० शृंखला खेल्नेछ।

प्रकाशित: १३ श्रावण २०७५ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App