खेल

रूसी रणनीति क्रोएसियाविरुद्ध पनि रक्षात्मक

अभ्यासका क्रममा क्रोएसियाली टोली।

सोची – प्रतियोगिता अघि थोरै समर्थकले मात्र आयोजक रूस विश्वकपको क्वार्टरफाइलमा प्रवेश गर्ने अपेक्षा गरे पनि मिडफिल्डर एलेक्जेन्डर गोलोभिनले भने प्रतियोगिताको फाइनल प्रवेशबारे सोचिसकेको बताएका छन्।

गोलोभिनले अन्तिम १६ मा स्पेनविरुद्ध हात पार्दा गरेको जुझारु प्रदर्शनपछि आफ्नो टोलीको क्षमतामा दुबिधा नगर्न आग्रह गरे । कप्तान तथा गोलकिपर इगोर अकिनफिभको उत्कृष्ट प्रदर्शनमा रूसले स्पेनलाई ४–३ ले स्तब्ध पार्दै क्रोएसियासँगको क्वार्टरफाइनल भेट पक्का गरेको थियो।

‘हामीलाई सबै कुरा सम्भव छ भन्ने थाहा छ,’ गोलोभिनले भने, ‘प्रतियोगिताको सुरुआतबाटै हामीले फाइनल प्रवेश लक्ष्यका साथ खेल्यौं र त्यहीअनुसार सुखद नतिजा आइरहेका छन्।’

यता डेनमार्कको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै रूससँगको भेट पक्का गरेको क्रोएसिया १९९८ को उपलब्धि दोहोर्याउने लक्ष्यमा हुनेछ । १९९८ मा क्रोएसियाले स्वन्त्रत राष्ट्रका रूपमा सहभागिता जनाउँदै पहिलो पटक प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा पक्का गरेको थियो।

क्रोएसियाले समूह चरणमा अर्जेन्टिनालाई ३–० ले स्तब्ध पार्दै जस्तोसुकै टोलीको सामना गर्न तयार रहेको प्रमाणित गरिसकेको छ । क्रोएसियाका रक्षक डोमागोज भिडाले अन्य टोलीका तुलनामा आफूहरूले कमजोर प्रतिद्वन्द्वी पाएको भन्दै त्यसको भरपूर फाइदा उठाउने बताए।

‘हामीले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरिसकेका छाैं र त्यो हाम्रो ठूलो सफलता हो,’ भिडाले भने, ‘तर हाम्रो लक्ष्य उच्च छ । हामी विश्वकपको उपाधि जित्न यहाँ आएका हौं र हामी त्यो लक्ष्यमा अघि बढिरहेका छाैं ।’ यी दुई टोलीबीचको विजेताले फाइनल प्रवेशका लागि इङ्ल्यान्ड र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

डेनमार्कविरुद्धको खेलमा तीन पेनाल्टी रोकेका क्रोएसियाका गोलकिपर ड्यानियल सुबासिचले शनिबार रूसले स्पेनविरुद्ध अपनाएको रणनीति दोहोर्याउने अनुमान गरे । स्पेनले अधिकांश समय बल नियन्त्रणमा राखेपनि रूसी रक्षापंक्ति भने तोड्न सकेन । ‘अन्य खेलजस्तै रूसविरुद्धको खेल पनि प्रतिस्पर्धात्मक हुनेछ,’ सुवासिचले भने, ‘रूसले रक्षात्मक रणनीति अपनाउने अनुमान छ।’

प्रतियोगिताको क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा रूसका समर्थकको व्यवहार पनि फेरिकएको छ । विश्वकपअघि खेलिएका ७ खेलमा विजयी नतिजा निकाल्न सकेको भन्दै चर्को आलोचित बनेका रूसका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभ स्पेनविरुद्ध अन्तिम १६ को खेलमा हात पार्दा अपनाएको रणनीतिको चर्चा हुन थालेको छ।

‘समग्र राष्ट्रले हामीमाथि विश्वास गरेको छ,’ रूसका मिडफिल्डर युरी ज्याजनिस्काइले भने, ‘स्पेनविरुद्धको खेलमा हामीले विजयी नतिजा निकाल्ने थोरैले अनुमान गरेका थिए । तर हामीले आफूलाई प्रमाणित गर्याैं।’

प्रकाशित: २२ असार २०७५ २१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App