खेल

विश्वकप फुटबलको पहिलो चरणका खेल बिहीबार सकिदै

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबारबाट पहिलो चरणका खेलहरू सकिदै छन्। ३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

प्रतियोगितामा समूह ‘ए’ बाट उरुग्वे र रूस, समूह ‘बी’ बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क, समूह ‘डी’ बाट क्रोएसिया र अर्जेन्टिना, समूह ‘इ’ बाट ब्राजिल र स्विट्जरल्याण्ड, समूह ‘एफ’ बाट स्विडेन र मेक्सिको र समूह ‘जी’ बाट इङल्याण्ड र बेल्जियम नकआउट चरणमा प्रवेश गरिसकेका छन्। बाँकी २ टोलीको टुंगो बिहीबार लाग्नेछ। 

बिहीबार हुने समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत हुने पहिलो खेलमा समूह एच मा रहेका कोलम्बिया र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ। खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ। 

कोलम्बियाले अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकाल्दै समूहको तेस्रो स्थानमा छ। उद्घाटन खेलमा जापानसँग २–१ को हार व्यहोरेको कोलम्बियाले दोस्रो खेलमा पोल्याण्डलाई ३–० ले पराजित गरेको थियो। दुईमध्ये एकमा जित र एकमा बराबरी गरेको सेनेगलले दोस्रो स्थानमा छ।

सेनेगलले उद्घाटन खेलमा पोल्याण्डलाई २–१ तथा दोस्रो खेलमा जापानजसँग २–२ को बराबरी खेलेको थियो। यो समूहमा जापान समान ४ अंकका साथ शीर्ष स्थानमा छ। अन्तिम १६ मा प्रवेश गर्न दुवै टोलीका लागि जित आवश्यक छ। पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह एच कै जापान र पोल्याण्ड भिड्नेछन्। सो खेल भोल्गोग्राड एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणमा स्थान बनाउन जापानलाई पनि जित्नैपर्ने दबाब छ। 

त्यस्तै कालिनिन्गोरोड रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह जी का इङ्ल्याण्ड र बेल्जियम आमने सामने हुनेछन्। दुवै टोली विश्वकपको अन्तिम १६ मा यसअघिनै प्रवेश गरिसकेका छन्। दुवै टोलीको समान ६–६ अंक भएपनि गोलअन्तरका आधारमा इङल्याण्ड शीर्ष स्थानमा छ।

इङ्ल्याण्डले उद्घाटन खेलमा ट्युनिसियालाई २–१ तथा दोस्रो खेलमा पानामालाई ६–१ ले पराजित गरेको थियो। यता बेल्जियमले उद्घाटन खेलमा पानामालाई ३–० तथा दोस्रो खेलमा ट्युनिसियालाई ५–२ ले पराजित गरेको थियो। यो खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। 

यता सोही ११ः४५ मै मोर्डोभिया एरिना रंगशालामा हुने अर्को खेलमा पानामा र ट्युनिसिया खेल्दैछन्। प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्तवता जितको खोजिमा रहनेछन्। 

 

प्रकाशित: १३ असार २०७५ २१:३५ बुधबार

विश्वकप फुटबलको पहिलो चरणका खेल बिहीबार सकिदै