खेल

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस र थ्रीस्टार भिड्दै

इलाम – इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) को चौंथो तथा अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः०० बजे पछि सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

भारत कोलकाताको दुर्गापुर स्टील क्लबलाई ३–१ ले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सिधै वाई पाएर अघिल्लो चरणमा प्रवेश गरेको हो। यसअघि बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले नगद ४ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक  गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १३ वैशाख २०७५ ०५:२९ बिहीबार

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस थ्रीस्टार भिड्दै