त्रियुगा नगरपालिकामा आयोजित ‘तेस्रो त्रियुगा अन्तरमाविस्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८१’ बुधबारदेखि सुरु भएको छ।
त्रियुगा ५ देउरीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाको प्रायोजन तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा यो प्रतियोगिता सुरु भएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ नारासहितको प्रतियोगिताको उद्घाटन नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा गरे।
प्रतियोगितामा नगरपालिकाभरका सामुदायिक र संस्थागत गरी ३७ विद्यालयका खेलाडीले सहभागिता जनाएका छन्।
प्रतियोगितामा भलिबल (महिला–पुरुष), कबड्डी (महिला–पुरुष), एथलेटिक्स, तेक्वान्दो, र कराते गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीका अनुसार उद्घाटनको दिन एथलेटिक्समा केही विद्यालयबीचको पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा मेयर बस्नेतले विद्यार्थीलाई किताबी ज्ञानसँगै चौतर्फी रूपमा निपुण बनाउन र सक्षम नागरिकका रूपमा विकास गर्न खेलकुदलाई प्राथमिकता दिएको बताए। उनले हरेक साताको अन्तिम शुक्रबारलाई ‘बुक फ्री डे’ घोषणा गर्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अनिवार्य सहभागी गराउने योजना सार्वजनिक गरे।
मेयर बस्नेतले भने, ‘आजका बालबालिका भोलिका देश र नगरका कर्णधार हुन्। उनीहरूलाई अतिरिक्त क्रियाकलापमार्फत सबल र सक्षम नागरिक बनाउन खेलकुद गतिविधि सञ्चालन गरिरहेका छौँ। नगरपालिकाले शिक्षा, खेलकुद र नागरिक निर्माणका क्षेत्रमा सुधार गर्दै हरेक वर्ष नगरस्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने परम्परा थालेका छौँ।’
कार्यक्रममा उपप्रमुख राईले त्रियुगाले राष्ट्रिय स्तरका धेरै खेलाडी उत्पादन गरिसकेको बताउँदै अब अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताइन्। खेलकुद गतिविधिले युवायुवतीलाई अनुशासित, सभ्य, स्वस्थ, र असल नागरिक बनाउन मद्दत गर्ने उनको भनाइ थियो।
नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी नगरक्षेत्रको समाज, राजनीति, भाषा, संस्कृति, पर्यटन, कृषि, शिक्षा, र कलाबारे जानकारीमूलक सामग्री समेटिएको पाठ्यपुस्तक कक्षा १ देखि ८ सम्म लागू गरेको छ।
नगर शिक्षा शाखा अधिकृत शिवकुमारी राउतका अनुसार यो पाठ्यक्रम नगरका सामुदायिक र संस्थागत विद्यालयमा अनिवार्य गरिएको छ।
प्रकाशित: ११ पुस २०८१ २१:२४ बिहीबार