चितवन राइनोजका अनुभवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी अन्तर्राष्ट्रिय क्रिकेटरहरूसँग खेलेर धेरै ज्ञान हासिल गरेको बताएका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा शरदले भने, “रवि र सोहेलजस्ता खेलाडीले आठ सयदेखि एक हजार खेल खेलिसकेका छन्। उनीहरूको अनुभवबाट धेरै कुरा सिक्ने अवसर मिल्यो।”
टोलीका सबै खेलाडीको अनुभव जोड्दा पनि यी दुवै खेलाडीको अनुभव बराबरी हुन नसक्ने उल्लेख गर्दै शरदले उनीहरूले आफ्नो अनुभव साझा गरेर ज्ञान प्रदान गरेको बताए।
शरदले धेरै प्रयास गरे पनि टोलीले प्लेअफभन्दा अगाडि जान नसकेको स्वीकार गरे। तर, उनले ट्यालेन्ट हन्टबाट टोलीमा आएका कुशल मल्ल नेतृत्व क्षमतामा सुधार देख्दा गर्व लागेको बताए। “आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेलेपछि कुशलकै कप्तानीमा खेल्न पाउनु मेरो लागि विशेष क्षण हो,” उनले भने।
क्रिकेट करियर कहिलेसम्म जारी रहन्छ भन्ने निश्चित नभए पनि अवसर पाएसम्म खेल्ने आफ्नो इच्छा रहेको शरदले स्पष्ट गरे। आफ्ना सहकर्मीहरूले व्यवस्थापन र प्रशिक्षणमा उत्कृष्ट काम गरिरहेको देखेर खुशी लागेको बताए। “उनीहरूको योगदान प्रशंसनीय छ,” शरदले थपे।
ब्रायन लाराजस्ता विश्वप्रसिद्ध क्रिकेटर नेपालको क्रिकेट प्रवर्द्धन गर्न आउनु सुखद पक्ष भएको उनको धारणा छ। “यसले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याउँछ,” शरदले भने।
प्रकाशित: ३ पुस २०८१ १६:३० बुधबार