कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिग चरणको प्रदर्शनलाई भुलेर प्लेअफलाई नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन्।
चितवन राइनोजमाथि जित हात पारेपछि आयोजित पत्रकार सम्मेलनमा सोमपालले प्लेअफमा नयाँ ऊर्जा र सोचका साथ मैदानमा उत्रिएको प्रतिक्रिया दिए। “हामीले टस जिते पनि पहिल्यैदेखि ब्याटिङ गर्ने योजना बनाएका थियौं,” उनले भने।
लिग चरणमा राम्रो सुरुवात गर्न नसक्दा रणनीतिमा परिवर्तन ल्याउनु परेको उल्लेख गर्दै उनले जयकिसन कोल्सावालालाई टोलीमा भित्र्याएको बताए। “कोल्सावालासँग नेपाली क्रिकेटबारे पहिल्यैदेखि छलफल भइरहेको थियो, र उनले पाएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरे,” सोमपालले थपे।
उनका अनुसार व्यक्तिगत खेलाडीको प्रदर्शनभन्दा पनि समग्रमा टोलीले बोर्डमा कति रन बनाउँछ भन्नेमा ध्यान केन्द्रित थियो। १६० रनको लक्ष्य राखे पनि योजनाभन्दा बढी रन बनेपछि उनी निकै खुशी भएको बताए।
लिग चरणमा आफ्नो टोली प्लेअफसम्म पुग्नेमा शंका रहेको स्वीकार गर्दै सोमपालले बलरहरूको उत्कृष्ट प्रदर्शनले टोलीलाई यहाँसम्म ल्याएको र अब फाइनलसम्म पुग्ने लक्ष्य रहेको बताए।
प्रकाशित: ३ पुस २०८१ १६:१५ बुधबार