खेल

इ प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट हुँदै

<br>

स्थानीय तहबाटै युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप ई प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ।

हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा सातै प्रदेशबाट गरी कक्षा ११ र १२ का विद्यार्थीका लागि लक्षित हाई स्कुल टी टेन क्रिकेट हुन लागेको हो।

हाइपएती इभेन्ट्सले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी माघ ९ देखि १२ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। त्यसअघि छनोट प्रतियोगिता आगामी पुस ३ गतेदेखि हुनेछ। इटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन्। हाइपएतीको सिइओ एलिजा थापाले देशभरका कलेजलाई सहभागी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिएको बताइन्। 

प्रतियोगितामा सात प्रदेश र एक आयोजक गरी कुल ८ टोलीले टी टेन क्रिकेटमा प्रतिस्पर्धा गर्ने जनाएको छ । छनोट र राष्ट्रिय प्रतियोगिता नकआउटका आधारमा हुनेछन् । ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरु गर्न लागेको बताए। यो प्रतिस्पर्धाबाट अवसर नपाएका कलेजका विद्यार्थीले राष्ट्रिय स्तरसम्म बाटो बनाउन भन्ने उद्देश्यले हाइ स्कुल क्रिकेटलाई प्रोत्साहन गरेको ई प्लानेटका चेयरमेनको भनाइ छ।

ई प्लानेटका चिफ मार्केटिङ अफिसर सञ्जीव भण्डारीले राष्ट्रिय खेलाडी बनाउने माध्यम सिर्जना गर्न यस प्रतियोगिता आयोजना गरिएको र यसलाई आगामी दिन थप परिस्कृत रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए।उनले युवा खेलाडीले आफूसँग भएको प्रतिभा देखाउन यो नै राम्रो अवसर रहेको उल्लेख गरे।

छनोटको क्रममा प्रदेशको विजेताले ५० हजार रुपैयाँ पाउने छन्।राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् ।प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।यो प्रतियोगिताले नेपालभरका हाई स्कुल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ।

प्रकाशित: १२ मंसिर २०८१ १९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App