खेल

महिला यू–१९ क्रिकेट छनोटका खेलाडीलाई भरतपुर महानगरले सम्मान गर्ने

चितवनको भरतपुर महानगरपालिकाले नेपाली महिला यु–१९ क्रिकेट छनोट टिमका खेलाडीलाई सम्मान गर्ने भएको छ । नेपाल चिकित्सक संघको आयोजनामा सुरु भएको प्रथम एनएमए स्पोर्ट्स फिस्ट २०८१ को उद्घाटन गर्दै प्रमुख रेनु दाहालले भरतपुरमा भएको क्रिकेट प्रतियोगिताको अन्तिम १४ मा छनोट भएका खेलाडीलाई सम्मान गर्ने बताइन् ।  

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गत माघमा ६ दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । ७ प्रदेशका देशभरका ११५ खेलाडी सम्मेलित प्रतियोगिताबाट २४ जना खेलाडीहरु विश्वकपको क्याम्पका लागि छनौट भएका थिए । २४ जना मध्येबाट छनौट भएका १४ जना महिला खेलाडी विश्वकपका लागि छनोट भएका हुन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका खेलकुद गतिविधिमा सबैभन्दा एक कदम अगाडि रहेको धारणा राखिन् । सन् २०२७ मा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल नेपालमा गर्ने आईसिसी भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको समेत उनले बताइन् । यसको लागि नेपाल क्रिकेट संघ (क्यान)संग समन्वयको काम भइरहेको उनको भनाई छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निकालेको तालिकाअनुसार सन् २०२७ को  महिला यु–१९ विश्वकप नेपाल र बंगलादेशमा हुनेछ ।

सो क्रममा प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्य संघ, प्रदेश र भरतपुर महागनरपालिकाको संयुक्त बजेटमा तीब्र रुपमा निर्माण कार्यअघि बढेको समेत बताईन् ।  

प्रकाशित: ३० कार्तिक २०८१ १७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App