खेल

थाइल्याण्डविरुद्ध नेपालले १३९ रन बनायो

यू–१९ महिला टि–२० विश्वकप एसिया छनोट:

युएईमा जारी यू १९ महिला टि–२० विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डविरुद्व १३९ रन बनाएको छ।

यस अघि नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो।

नेपालका लागि सबै भन्दा वढि साना प्रवीण ५३ रन बनाइन।त्यसै गरी सावित्री धामी  २८ रसोनी पाख्रिनले १९ बनाइन भने बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान पुजा महतो  ४ रन बनाएर आउट भइन। थाइल्याण्डका लागि नथारिका ठोकोइले ३,केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिए। 

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

प्रकाशित: २५ कार्तिक २०८१ १६:५३ आइतबार

U-19 Women's T-20 World Cup Asia Qualifier