खेल

बैतडीमा पन्ज्युनयाँ क्रिकेट लिग सुरु

तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग मंगलबारदेखि यहाँ प्रारम्भ भएको छ। सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे।  

उन्नाइस टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए।

खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीले बताए।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तह सबल हुनुपर्छ भने। ‘एक वडा एक खेल मैदान’ निर्माणको अवधारणा पालिकाले अघि सारेको बताउँदै अध्यक्ष कार्कीले बजेट अभावमा त्यसले पूर्णता पाउन नसकेको दुखेसो गरे।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु एक लाख ५५ हजार ५५५ सहित शिल्ड र पदक पाउनेछभने उपविजेता टोलीले नगद रु ५५ हजार ५५५ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरी, सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वनास्वरूप रु १० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ११ हजार १११, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु एक हजार १११ प्रदान गरिने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए। 

प्रकाशित: २९ आश्विन २०८१ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App