खेल

कात्तिक ४ गतेदेखि चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकआउट फुटबल हुने

आउँदो कात्तिक ४ देखि ९ गते सम्म ताप्लेजुङको फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा तेस्रो स्वर्गीय चन्द्रबहादुर नयोङहाङ स्मृति पुरुष नकाउट फुटबल प्रतियोगिता हुने भएको छ।

आइतबार आयोजक कर्णसिंह सोनाम फुटबल क्लवले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी दिएको हो। प्रतियोगिता आयोजक कमिटीका सचिव दीपेश सुनामका अनुसार प्रतियोगितामा १६ टीम सहभागी हुने छन्। सम्वन्धित जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघमा आधिकारिक रुपले दर्ता भएका क्लवहरुले मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन्।

प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष हाङगो लिम्बूका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ८१ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले ४१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन्। टिम दर्ताका लागि असोज २९ गते सम्मको समयावधि दिईएको छ।

दर्ताको अन्तिम मितिका भोलिपल्ट ३० गते खेलतालिका प्रकाशित हुने आयोजकले जनाएको छ। टिममा तीन अतिरिक्त सहित १० जना खेलाडी हुनुपर्ने प्रवन्ध गरिएको छ। प्रत्येक प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार सहित पुरस्कृत गरिने भएको छ। बिधागततर्फ सर्बोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट प्रशिक्षक सहितलाई नगद सहित पुरस्कृत गर्ने आयोजकको तयारी छ।

प्रतियोगिता आयोजक कमिटीका कोषाध्यक्ष पवन लिम्बूका अुवार सञ्चालन समितिका कोषाध्यक्ष पवन लिम्बूका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथीभाई युवा समाज सह–आयोजक रहेको प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको छ। कूलत र कुसंस्कार बिरुद्ध सामाजिक जागरणका अभियानहरु सञ्चालन गरिरहेको संस्था होफ फर अल सहयोगी संस्थाको रुपमा रहने भएको छ।

प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय चन्द्रबहादुर नयोङहाङका परिवारजन क्रमशःरुपा नयोङहाङ,शोभा नयोङहाङ,ववि नयोङहाङ र रुविना नयोङहाङले गरेको प्रतियोगिता आयोजक कमिटीले जानकारी दिएको छ। पर्यटन,कृषि र खेलकुदलाई एकआपासमा जोड्दै ताप्लेजुङको बजार चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका उपाध्यक्ष काजी सुनुवारले जानकारी दिए।  

प्रकाशित: २० आश्विन २०८१ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App