खेल

स्वदेश फर्किए एसिया ट्रायलका पदकविजेता

एसिया ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक विजेता खेलाडी बुधबार स्वदेश फर्किएका छन्।

नेपाल एडभेन्चर रनिङ महासंघले मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ सम्म सम्पन्न च्याम्पियनसिपको फाइनलमा पदक विजेतालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। उक्त च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण र एक कांस्य गरी कुल चार पदक जितेको थियो। 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले बधाइ दिँदै स्वागत गरेका थिए। च्याम्पियनसिपमा महिला ७८ किलोमिटर दूरी प्रिया राईले स्वर्ण जितेकी थिइन्। उनले ११ घण्टा १३ सेकेन्डमा दौड पूरा गरेकी हुन्।

सो स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन्। रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १३ मिनेट ३९ सेकेन्ड समय लगाइन्। महिलामा नेपालबाट पाँच खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। तीमध्ये पदमकुमारी सुनुवार छैटौं, छोकी शेर्पा सातौं र आङ फुर्वा शेर्पा २२औं स्थानमा रहे।

पदमकुमारीले १४ घन्टा १९ मिनेट २९ सेकेन्ड र छोकीले १४ घन्टा १९ मिनेट ३६ सेकेन्डमा दूरी पार गरिन्। पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार धावकले प्रतिस्पर्धा गरेका थिए। नेपालका लागि सबैभन्दा सफल अर्जुन कुलुङ राई दशौं स्थानमा रहे। यस विधामा कुल ४५ धावकले चुनौती प्रस्तुत गरेका थिए। 

लोकेन्द्र राईले १४औं, दिना नाथ बगाले २१औं, फुर्पा सिङ्गी तामाङले २२औं र मिलन राईले २६औं स्थानमा स्थानामा रहे। समूहमा भने नेपालको पुरुष/महिला दुवै टोली पहिलो भएको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी गराए। 

प्रकाशित: २ आश्विन २०८१ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App