खेल

पलेशालाई एनसेलको १० लाख

पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिकमा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मानस्वरूप एनसेलले पलेशालाई १० लाख रूपैयाँ प्रदान गर्न लागेको हो। अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रूपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ। एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरूप यो सम्मानको घोषणा गरेको हो।

एनसेलले गत वर्षदेखि एनपिसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

‘मेरो यस यात्रामा मैले धेरै अविश्वसनीय व्यक्तित्वसँग भेटें र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ। यस क्षणमा म मेरो परिवार, तेक्वान्दो एसोसिएसनका मेरा प्रशिक्षकलगायत गत वर्ष एसियन पारा गेम्सदेखि मेरो परिवारजस्तै बनेको एनसेललाई उहाँहरूको साथ, हौसला र मप्रतिको दृढ विश्वासको लागि म विशेष आभारी छु,’ पलेशाले भनिन्।

प्रकाशित: १९ भाद्र २०८१ ०८:१७ बुधबार

#Palesh Gobardhan #Ncell