खेल

अन्तर्राष्ट्रिय मुवाँथाईमा नेपाललाई नौ स्वर्ण

नेपाल घरेलु मैदानमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपमा च्याम्पियन भएको छ।

वल्र्ड अल फाइट सिस्टम अर्गानाइजेसनको आयोजनामा काठमाडौंको जिमखानामा सम्पन्न दुईदिने च्याम्पियनसिपमा नेपाल ९ स्वर्णसहित च्याम्पियन भएको हो। उक्त च्याम्पियनसिपमा नेपालसहित भारत र श्रीलंकाका फाइटहरूले चुनौती प्रस्तुत गरेका थिए। भारत तीन स्वर्णसहित दोस्रो हुँदा श्रीलंका तेस्रो स्थानमा खुम्चियो। श्रीलंकाका दुई खेलाडीले स्वर्ण पदक प्राप्त गरे। फाइटतर्फ ६५ केजी तौलसमूहमा लक्ष्मण श्रेष्ठ र अकेश केसीले नेपालका लागि स्वर्ण पदक जिते। लक्ष्मणले जितेन्द्र राई र अकेशले श्रीलंकाका विजेभन्दरालाई हराए।

३५ केजी तौलसमूहमा आयुष तामाङ र समीर तामाङले स्वर्ण पदक जिते। आयुषले भारतका हानिसिभमलाई र समीरले श्रीलंकाका मेथुकालाई हराए। ५५ केजी तौलसमूहमा नेपालका यमन मोक्तानले सफलता प्राप्त गर्दा आकाश देउला भने पराजित भए। यमनले भारतका लालरिङथाङ काइपेङलाई हराए। आकाश भने श्रीलंकाका थिसरा अन्जनासँग पराजित हुन पुगे। नेपालले ४५ केजी तौलसमूहमा दुई स्वर्ण पदक जित्यो। यो तौलसमूहमा नेपालका आषिश तामाङले भारतका धनेशलाई र मिसम जबेगुले भारतकै तेजाश्रीलाई हराए।

३५ केजी तौलसमूहमा नेपालका प्रशान्त राई भारतका लक्षित डेनियरसँग पराजित हुन पुगे। पुरुषको ५० केजी तौलसमूहमा प्रविण मोक्तानले भारतका हामेशलाई हराए। यसै तौलसमूहमा महिलातर्फ भने नेपालकी पलिस्था कक्षपति पराजित हुन पुगिन्। उनी अपर्णा काभिनगासँग पराजित भइन्। पवन गिरीले ५५ केजी तौलसमूहमा स्वर्ण जिते। उनले भारतका बसिर मोहमेदलाई हराए। प्रतियोगिताका विजेतालाई पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। 

प्रकाशित: १० भाद्र २०८१ ०६:५४ सोमबार

#Muathai #Nepal