खेल

नेपाली खेलाडीको कोटा पूरा

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का  फ्रेन्चाइचले आफ्नो टोलीमा अनुबन्धित खेलाडी सार्वजनिक गरेका छन्। नेपाली भलिबलमा पहिलोपल्ट फ्रेन्चाइज लिग हुन लागेको हो। नेपाल भलिबल संघ र ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षक बीचको छलफलपछि ड्राफ्टबाट अन्तिम टोली बनाइएको आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार जानकारी दिएको हो।

प्रत्येक टोलीका मार्की खेलाडीलाई मात्रै ‘ए’ श्रेणीमा राखिएको छ। गण्डकीले सरस्वती चौधरी, काठमाडौंले उषा भण्डारी, मधेसले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी र चितवनले अरूणा शाहीलाई ‘ए’ श्रेणीमा अनुबन्धित गरेका छन्।

उनीहरूले एक लाख ५० हजार रूपैयाँ पाउनेछन्। ‘बी’ श्रेणीमा भने समान चार जना खेलाडी अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय टोलीकी सेटर प्रगति नाथसँगै लक्ष्मी चन्द, रिमा कुँवर र कविता भट्ट गण्डकीमा अनुबन्ध भए ।

काठमाडौंमा आरती सुवेदी, कोपिला राना, कमला पुन र उषा विष्ट अनुबन्धित हुँदा मधेसमा पूजा थारु, संगम महतो, जसना महतो र शान्तिकला तामाङ छानिएका छन् । ललितपुरमा पुनम चन्द, कामना विष्ट, साफिया पुन र निशा चौधरी अनुबन्धित भएका छन्।

कर्णालीले ‘बी’ श्रेणीबाट मीना सुनार, मनीषा चौधरी, यमुना रसाइली र सुनीता राईलाई अनुबन्धित गर्‍यो। यसै श्रेणीबाट सालिना बूढामगर, जिनिसा विश्वकर्मा, एन्जेला प्रधान र सुनीता खड्का चितवनमा अनुबन्धित भए। उनीहरूले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । ‘सी’ श्रेणीमा भने समान तीन खेलाडी रहेका छन्।

आरती चौधरी, स्नेहा ठगुन्ना र सरस्वती जैसीले गण्डकीबाट खेल्नेछन्। रस्मिता दुरा, वसन्ती साउद, निशा महर काठमाडौंमा छन्। मधेसले हीरा केसी, आशिका क्षेत्री र एलिसा मानन्धर टोलीमा समावेश गर्‍यो।

ललितपुरमा भावना तामाङ, नेहा चौधरी र अनुषा चौधरी छन्। ‘सी’ श्रेणीबाट सृष्टि खड्की, गरिमा बोहरा र पशुपति बोहरालाई टोलीमा कर्णालीले भित्राएको छ। भावना डाँगी, वाल्मीका आचार्य र सरस्वती कट्टेल ‘सी’ श्रेणीबाट चितवनमा अनुबन्धित भएका छन्। उनीहरूले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक टोलीमा तीन अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। इन्फिनिटी ड्रिम्स प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक आमिर अख्तरले भारत, ब्राजिललगायत राष्ट्रबाट खेलाडी ल्याउने तयारी भइरहेको जानकारी दिए।

कम्तीमा एक खेलाडीलाई भने ‘ट्यालेन्ट हन्ट’ बाट छान्दै टोलीमा राखिनेछ। खेलाडी घोषणा भए पनि फ्रेन्चाइजीले आफ्नो टोलीको नाम सार्वजनिक गर्न सकेका छैनन्। टोलीका मालिक रोहित अग्रवालले भने आफू वीरगन्ज केन्द्रित रहेकाले टोलीको नाम मधेस युनाइटेड रहने बताइसकेका छन्। पाँच टोलीका मालिकलाई पनि आफूखुसी टोलीको नामाकरण गर्ने अधिकार दिइएको छ। तर, प्रतियोगिताको मिति र खेलतालिका भने अझै सार्वजनिक हुन सकेको छैन।

प्रकाशित: १ भाद्र २०८१ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App