नेपालले मंगलबार इरानमाथि लिगमा बेहोरेको हारको बदला लिँदै काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले इरानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनलमा भारतसँग भेट पक्का गरेको छ ।बुधवार नै उपाधि भिडन्त हुनेछ । भारतले पनि पहिलो सेमिफाइनलमा श्रीलङ्कामाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान भएको थियो । समूह चरणमा नेपालले भारतलाई ३-२ को सेटमा हराउँदै इतिहास रचेको थियो ।
नेपालले लिगमा चरणमा इरानसँग प्रतिस्पर्धात्मक सेटमा ३-२ ले हार बेहोरेको थियो । तर, सेमिफाइनलमा भने नेपालले हारको बदला लियो । यस क्रममा नेपालले इरानमाथि २५-२१, २८-२६ र २५-२० ले जित रच्यो ।
सेमिफाइनलमा पनि नेपालको सुरुआत राम्रो हुन सकेन । नेपालले पहिलो दुई सेटमा नै अग्रता गुमाएको थियो । तर, छिट्टै लय समाउँदै नेपालले गल्ती सुधार गर्यो । नेपालले अग्रता उल्टयाउंदै ३-३ को स्थितिमा ल्यायो र पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा बनायाे ।
दोस्रो सेटमा पनि इरानले सुरुआत अग्रता लियो ।दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय इरान २०-१७ काे अग्रता जोगाउन नसक्दा उल्टै दबाब पर्यो । इरानले लगातार २३-२१ को अग्रता लियो । यद्यपि नेपालले उत्कृष्ट पुनरागमन गर्यो २४-२४ स्थिति ल्यायो । लगातार दुवै तर्फ र्याली चले पनि अन्ततः नेपालले २८-२६ ले सेट आफ्नो पक्षमा बनायो । तेस्रो सेटमा पनि इरानले सुरुदेखि दबाब बनायो र लगातार तीन अङ्कसम्म अग्रता लियो । यस क्रममा नेपाल १४-११ ले पछि थियो । तर, लगातार अंक बटुल्दै नेपालले १४-१४ को स्थितिमा ल्यायो । यहीबाट नेपालले अग्रता लिँदै जितको आधार पनि बनायो । अन्ततः नेपालले यो सेट २५-२० ले आफ्नो बनाउँदै लिगमा इरानसँग बेहोरेको हारको बदला लियो ।
त्यसअघि श्रीलङ्कालाई सेमिफाइनलमा हराउँदै भारत नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा पुगेको थियो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भारतले श्रीलङ्कामाथि सोझो सेटमा जित निकालेको हो।भारतले पहिलो दुई सेट २५-१५ र २५-१६ ले सहजै आफ्नो बनायो । तेस्रो सेटमा श्रीलङ्काले चुनौती दिँदै १२-९ ले अग्रता बनाएको थियो । तर, अग्रता जोगाउन नसक्दा श्रीलङ्का २५-२३ ले गुमाउन पुग्यो । अब श्रीलङ्काले तेस्रो स्थानका लागि बुधवार खेल्नेछ। नेपालसँग पराजित इरानले बुधवार नै तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ।
प्रकाशित: २२ श्रावण २०८१ १८:४८ मंगलबार