खेल

एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी दीपेन्द्र

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन्। उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि युवराज सिंह र किरोन पोलार्डकाे नाममा रहेको कीर्तिमानको बराबरी गरे।

यससँगै दीपेन्द्र अन्तर्राष्ट्रिय टि-२० खेलमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो खेलाडी बने। पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए। उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका हुन्।

दीपेन्द्रको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो। नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए। कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे।

यसअघि दीपेन्द्रले मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए।

प्रकाशित: १ वैशाख २०८१ १८:४२ शनिबार