खेल

अरनिको, अर्किड, रेडस्टार, कान्तिपुर र शिक्षादीप सेमिफाइनलमा

विराटनगरमा जारी हिसान स्पोर्टस् मिटको फुटबल, क्रिकेट र भलिबल खेलमा विजयी हुँदै अरनिको, अर्किड, रेडस्टार, कान्तिपुर र शिक्षादीप कलेज सेमिफाइनलमा पुगेका छन्।

वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा विराटनगरको अरनिको कलेजले विराटनगरकै शिक्षादीप कलेजलाई ६५ रनले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

टस जितेर ब्याटिङ थालेको अरनिकोले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १७ रन चुनौती खडा गर्‍यो। म्यान अफ द म्याच रामनारायण यादवले ६१ रन बनाए। शिक्षादीपका प्रज्ज्वल काफ्ले, प्रतीक पोखरेल, उदय कामत र सागर मण्डलले १–१ विकेट लिए।

१ सय १८ रनको चुनौती पाएको शिक्षादीपले १४ ओभर १ बल खेल्दे सबै विकेटको क्षतिमा ५२ रनमै समेटियो। आनन्द साहले १६ र कृष्ण झाले १४ रन बनाए। अरनिकोका सागर मोचीले ५ विकेट लिए।

अर्को खेलमा अर्किड कलेजले विकेभिएम स्कुललाई ४२ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ। टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३१ रन बनाए। महमद सवाजुल र सन्तोष चौधरीले ४१–४१ तथा साहिल शेखले ३७ रन बनाए।

विकेभिएमका आदित्य बस्नेत, राज कामत र सुनील यादवले समान १–१ विकेट लिए। १ सय ३४ रनको चुनौती पाएको विकेभिएले १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९१ रनमा सीमित भयो। अमन शर्माले ३३ रन बनाए। अर्किडका म्यान आफ द म्याच निरज मण्डलले ५ विकेट लिए।

त्यस्तै, छात्र भलिबलतर्फ रेडस्टार स्कुलले पशुपति स्कुललाई २५–१७ र १६–२५ र २५–२३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

म्यान अफ द म्याच रेडस्टारका प्रदीप खडका भए। अर्को खेलमा शिक्षादीप कलेजले बुद्ध स्कुललाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेको छ। म्यान अफ द म्याच शिक्षादीपका सुरेन्द्र खनाल भए।

छात्रा भलिबलतर्फ कान्तिपुरले अरनिको कलेजलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेको छ। म्यान अफ द म्याच कान्तिपुरकी पवित्रा डाँगी भइन्। अर्को खेलमा अर्किड कलेजले बुद्ध स्कुललाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेको छ। म्यान अफ द म्याच अर्किडकी रिमा मगर भइन्।

त्यसैगरी, फुटबलतर्फ अर्किड कलेजले सिटी कलेजलाई ४–० गोल अन्तरमा पराजित गरी क्वाटरफाइनलमा पुगेको छ। अरर्किडका म्यान अफ द म्याच सागर विश्वकर्माले २ तथा अनिष श्रेष्ठ र प्रनिल मगरले १–१ गोल गरे। अर्को खेलमा कान्तिपुर कलेजले सगरमाथा कलेजलाई २–० गोलअन्तरमा हराउँदै क्वाटरफाइनलमा पुगेको छ। कान्तिपुरका म्यान अफ द म्याच युनिश मगर र सरोज साहले १–१ गोल गरे।

कबड्डी खेलतर्फ मोडर्न एरा, विद्याभूमि, कान्तिपुर, अर्किड, शिक्षादीप र अरनिको विजयी भए।

प्रकाशित: १३ माघ २०८० १५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App