खेल

महिला भलिबल आइतबारबाट

काठमाडौं – सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँचौं राष्ट्रिय खुला महिला भलिबल, चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन  र दशौं सहवीर स्मृति खुला लन टेनिस प्रतियोगिता गर्ने भएको छ।

एपिएफको केन्द्रिय खेलकुद समितिले आइतबारबाट तीनवटै प्रतियोगिता गर्ने सोमबार पत्रकार सम्मेलनमा जानकारी गरायो।
हलचोकस्थित एपिएफकै कोर्टमा हुने महिला भलिबल प्रतियोगितामा आयोजक एपिएफसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, पश्चिमाञ्चल भलिबल विकास समिति र शिवम् न्यु डायमन्ड गरी ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

चैत २ सम्म लिग कम नकआउट प्रणालीमा चल्ने प्रतियोगिताको विजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र प्रशिक्षकले  समान ५–५  हजार पाउने आयोजक एपिएफले जनाएको छ।

ब्याडमिन्टनमा विभिन्न दश इभेन्ट्समा प्रतिस्पर्धा हुने जानकारी गराइयो ।  पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १७ वर्षमुनिका केटा–केटी एकल, मिक्स युगल, भेट्रान्स युगल ४५, भेट्रान्स युगल ५५ वर्ष र मास्टर ३५ वर्षमाथि युगल स्पर्धामा प्रतिस्पर्धा हुनेछन्।

पुरुष एकलमा पहिलो हुनले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन्  । क्वार्टरफाइनल पुग्ने प्रत्येकले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने महिला एकल स्पर्धामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय रुपैयाँ पाउनेछन् । ब्याडमिन्टनतर्फकै पुरुष युगलमा पहिलोे हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् । यसै गरी महिला युगल स्पर्धामा विजेताले ४० हजार, उपविजेताले २५ र तेस्रो हुनेले  २० हजार रुपैयाँ पाउनेछन्।

ब्याडमिन्टनकै १७ वर्षमुनि केटा–केटी स्पर्धाको विजेताले नगद २५ हजार रुपैयाँ हात पार्दा उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसै गरी मिक्स डबल्स, भेट्रान्स युगल ४५–५५ वर्ष र मास्टर ३५ वर्षमाथि युगल स्पर्धाका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

टेनिसतर्फ १३ इभेन्ट्सहरु समावेश गरिनेछ । टेनिसमा पुरुष÷महिला एकल,  पुरुष–महिला युगल, अवकाश प्राप्त सरकारी कर्मचारी एकल र युगल, ३५–४५–५५ वर्षमाथि भेट्रान्स खुला एकल र युगल, र ६५ वर्षमाथि भेट्रान्समा प्रतिस्पर्धा हुनेछ । टेनिस स्पर्धामा प्रतिस्पर्धामा गर्ने पहिलो, दोस्रो र तेस्रो हुने सबैले नगद पुरस्कार पाउनेछन्।

भलिबल र  ब्याडमिन्टनका प्रतियोगिता सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा हुनेछ भने टेनिस हलचोक र सातदोबाटोको टेनिस कोर्टमा हुने आयोजक समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले पत्रकार सम्मेलनमा जानकारी दिए।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०४:०९ मंगलबार

महिला भलिबल आइतबारबाट