खेल

एपिएफको सहज जित

काठमाडौं–  सशस्त्र प्रहरी बलको एपिएफ महिला टोलीले बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गर्दै एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

समूह ‘बी’ मा शतप्रतिशत नतिजा निकाल्ने क्रममा एपिएफले जावलाखेलमाथि २५–६, २५–७, २५–४ को सहज विजय हासिल गरेको हो । जितसँगै समूह विजेता बनेको एपिएफ अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को उपविजेता नेपाल पुलिस क्लबले सेमिफाइनलमा शिवम् न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबारै पुरुषतर्फ पनि सेमिफाइनल समीकरण पूरा भएको छ । महिलातर्फ जस्तै पुरुषमा पनि तीनै विभागीय टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । त्रिभुवन आर्मी क्लबले नयाँ बजार सामाजिक क्लबलाई, एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई, नेपाल पुलिस क्लबले ढोरपाटन क्लबलाई हराउँदै समेमिफालनमा स्थान बनाएका हुन् । अन्तिम चारमा स्थान बनाउने अर्को टोली हेल्प नेपालले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराएको थियो।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा पुलिस क्लबले ढोरपाटनलाई २५–११, २५–१७, २५–२१ को सोझो सेटमा पराजित गर्दा एपिएफ क्लबले रूपन्देहीको मणिमुकुन्द क्लबलाई २५–१९, २५–२३, १९–२५, २५–२१ को सेटमा हरायो।पुरुषतर्फ अर्को क्वार्टरफाइनलमा हेल्प नेपालले जावलाखेललाई २५–१६, २५–१७, २१–२५, २५–२२ को सेटमा पराजित गर्‍यो । त्रिभुवन आर्मीले नयाँ बजारलाई २५–१०, २५–१६ र २५–९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:५६ शुक्रबार

एपिएफको सहज जित