खेल

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

काठमाडौं – चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्।

बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्। नेपाली सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्ट दोस्रो र तेस्रो भए। रिमालले २ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दौड पुरा गरे भने भट्टले ३ घण्टा ३ मिनेट ४० सेकेण्डमा उनलाई पछ्याए।

प्रथम भएका श्रेष्ठले १ लाख राशिको लुम्बिनी अशोका शान्ति पुरस्कार हात पारे । रिमाल र भट्टले क्रमश ७५ हजार र ५० हजार राशीको कपिलवस्तु हुएन सान शान्ति पुरस्कार र मायादेवी मन्दिर उथान्त शान्ति पुरस्कार हासिल गरे।

भगवान बुद्धत्व प्राप्त गरेपछि आफ्नो बाबुलाई पहिलो पटक भेटेको ठाउँ मानिएको कुदानबाट शुरु भएको दौड लुम्बिनी–कपिलवस्तु क्षेत्रका बिभिन्न बौद्ध सम्पदास्थल निग्लिहवा, तिलौराकोट दरबार, बाणगंगा खोला, दोहनी हुँदै मायादेवी मन्दिर परिसरमा समापन भएको थियो।

शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफकमर्स लगायत सहयोगी संस्था रहेका थिए। 

नेपालसहित भारत, चीन, हङकङ, न्युजिल्याण्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया, स्वीडेन लगायत देशका ९४ जना धाबकको म्याराथनमा सहभागिता रहेको थियो ।

हाफ म्याराथनको उपाधि भारतलाई

यसैबीच भारतीय सेनाका तीर्थ पुनले लुम्बिनी शान्ति म्याराथन २०१८ को हाफ म्याराथनतर्फको उपाधि हात पारे। त्यस्तै नेपाली सेनाका रामजी बस्नेत र टिकाराज कटवालले २१ किलोमिटर दौडमा द्वितीय र तृतीय स्थान हासिल गरे। प्रथम, दोस्रो र तृतीय हुने धावकले क्रमश ५० हजार,  ३५ हजार र २५ हजार नगद पुरस्कार हात पारे।

५ किलोमिटर दौडमा थापा प्रथम 

यसैगरी १६ बर्षभन्दामुनिको ५ किलोमिटर दौडको उपाधि सुनिल थापाले हासिल गरे। त्यसैगरि सञ्जय राई र सतेन्द्र यादबले दोस्रो र तेस्रो स्थान हासिल गरे। प्रथम स्थान हासिल गर्ने थापाले १० हजार नगद हात पारे भने दोस्रो र तेस्रो हुनेले ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रथम पुरस्कार अन्तर्राष्ट्रिय बौद्ध समाजका मैत्री भिक्षुले प्रदान गरे।  दोस्रो र तेस्रो पुरस्कार क्रमश लुम्बिनीस्थित चाइनिज मोनास्ट्रि, म्यान्मार मोनास्ट्रिका प्रमुख भिक्षूले प्रदान गरे।

कार्यक्रममा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्स, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट, एडभेन्चर स्पोट्र्स सोसाइटी नेपाल लगायतका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रमको पुर्बसन्ध्यामा स्वयम्भुदेखि लुम्बिनीसम्म ग्रेट बुद्धिस्ट ट्रेल साइकल यात्राको आयोजना गरिएको थियो। यात्रामा ५० भन्दा बढी साइक्लिस्टहरुको सहभागिता थियो ।

प्रकाशित: १७ फाल्गुन २०७४ ०९:११ बिहीबार

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई