काठमाडौं – फिफाको अधिकारिक प्रायोजक कोकाकोलाले यसै वर्ष रूसमा हुने विश्वकप हेर्न नेपालबाट ४० समर्थक लाने भएको छ।
‘कोक खाम् रसिया जाम्’ योजनाअनुसार ४० भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्च बेहोरेर विश्वकपका खेल हेर्न रूस लाने मंगलबार पत्रकार सम्मेलनमा कोकाकोलाको नेपाल हेर्ने कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जानकारी गराए।
सिंहले भने, ‘विश्वकपअघि ‘कोक खाम् रसिया जाम्’ अभियान सञ्चालन गर्दा हामी निकै उत्साहित छौं।’
उपभोक्ताहरूलाई लक्षित गरी ल्याइएको अभियानबाट ४० समर्थकले रसिया विश्वकप हेर्ने मौका पाउनेछन् भने १२ हजार ६ सय अन्य विजेताले फिफा विश्वकपको लोगो अंकित उपहार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कोकाकोलाको नेपालमा आधिकारिक उत्पादक एवं विक्रेता बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनीत वास्र्नेले विश्वको सबभन्दा ‘लोकप्रिय खेल र लोकप्रिय पेय पदार्थ’ बीचको सहकार्यले उपभोक्ताहरूलाई अस्मरणीय अनुभव दिलाउने बताए । वास्र्नेले भने, ‘रूस गएर विश्वकपको अनुभव गर्ने अवसर मात्र होइन, विश्वकपसँग जोडिएको विशेष अभियानबाट उपभोक्ताले अन्य उपहार जित्ने मौका पनि पाउनेछन्।’
अभियान फेब्रुअरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म सञ्चालन हुने बताइएको छ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करण रूसका विभिन्न सहरमा जुन १४ मा सुरु हुनेछ । जुलाई १५ सम्म चल्ने प्रतियोगितामा आयोजक रूससँगै नवप्रवेशी पानामा र आइसल्यान्डसहित ३२ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: ९ फाल्गुन २०७४ ०४:०३ बुधबार