खेल

पिएम कपको सेमिफाइनल समीकरण पूरा

आयोजक न्यु इन्द्रेणी वागेश्वरीका पूजा चौधरी एपिएफविरुद्ध सट प्रहार गर्दै । तस्बिर/नागरिक

नेपालगन्ज – विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र  नेपाल पुलिस क्लब पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को सेमिफाइनलमा शिवम् न्यु डायमन्ड एकेडेमी र बंगलादेशको इफाट ग्रुप महिला भलिबल टोलीले खेल्ने भएका छन्।

नेपालगन्ज कभर्ड हलमा एपिएफ र डायमन्डले समूह चरणको अन्तिम खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । एपिएफले घरेलु टोली न्यु इन्द्रेणी वागेश्वरी युथलाई २५–१२, २५–१४, २५–९ ले हरायो।

घरेलु टोली वागेश्वरीले शुक्रबार पाहुना टोली बंगलादेशको इफाटलाई कडा चुनौती दिएको थियो । सोझो सेटमा तीनै खेल हारे पनि वागेश्वरीले हरेक सेटमा इफाटलाई तनाब दिएको थियो । तर शनिबार भने एपिएफसँग आयोजकको प्रदर्शन कमजोर देखियो।
 एपिएफ प्रतियोगिताको दोस्रो संस्करणको विजेता टोली हो । तर पछिल्ला दुई संस्करणको फाइनलमा पुगेर पनि एपिएफ उपाधि जित्न असफल भएको थियो । दुवै फाइनलमा एपिएफलाई भारतको रेल्वे ए टिमले हराएको थियो । यस पटक रेल्वे ए भने प्रतियोगितामा सहभागी छैन।  

विभागीय टोलीबीचको प्रतिस्पर्धा रोचक हुने गर्छ । प्रतिष्ठाका लागि विभागीय टोलीले एकअर्कासँग सहजै हारलाई स्वीकार गर्दैनन् । एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्ट पुलिससँगको खेललाई लिएर धेरै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । उनले भने, ‘पुलिससँग अहिले भारतका तीन खेलाडी छन् । तर पनि हामी आत्तिनुपर्ने अवस्था छैन । हाम्रो स्तर माथि छ । न्यु डायमन्डसँग खेल्दा मात्र हामीले सचेत भएर खेल्नुपर्छ।’

एपिएफलाई सहजै जिताउन योगदान गरेकी स्पाइकर सरस्वती चौधरी वुमन अफ द म्याचबाट पुरस्कृत भइन् । सरस्वतीलाई सुपर भिजन केबल नेटवर्कका प्रबन्ध निर्देशक विनोद अग्रहरी, क्षेत्रीय खेलकुद विकास समिति उपाध्यक्ष नरेन्द्र थापा र बर्दिया जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र खनालले पुरस्कृत गरे।

यसै गरी अर्को खेलमा शिवम् न्यु डायमन्डले सहजै भारत देहरादूनको स्पोर्ट्स ट्रेनिजलाई अन्डर १० मा हरायो । डायमन्डले देहरादूनलाई २५–८, २५–९, २५–४ ले पराजित गरेको थियो । खेलमा डायमन्डकी कप्तान ललिता नाथ वुमन अफ द म्याचबाट पुरस्कृत भइन् । ललितालाई नेपालगन्जका व्यवसायी आशिष अग्रवाल, बिबि साइकलका प्रबन्ध निर्देशक एम बागवान र ग्यालेक्सी दरबार होटलका प्रबन्ध निर्देशक सञ्जय श्रेष्ठले पुरस्कृत गरे।

‘विपक्षी टोली सहज भएर हामीलाई मिहिनेत गर्नुपरेको छैन । हामीसँग स्तर मिलेको छैन । त्यसले हामी अब सोझौ फाइनल खेल्ने मनस्थितिमा पुगिसकेका छौं।’

डायमन्डबाट अहिले राष्ट्रिय टोलीकी उपकप्तान मन्जु गुरुङले खेलिरहेकी छिन् । मन्जु आएपछि डायमन्ड थप बलियो भएको छ । समूह चरणका खेलमा सफलता हात पार्न टोलीलाई कुनै अप्ठयारो नभएको शिवम् न्यु डायमन्डका प्रशिक्षक कुमार राईले बताए । उनले भने, ‘विपक्षी टोली सहज भएर हामीलाई मिहिनेत गर्नुपरेको छैन । हामीसँग स्तर मिलेको छैन । त्यसले हामी अब सोझौ फाइनल खेल्ने मनस्थितिमा पुगिसकेका छौं । त्यसका लागि टोलीलाई तयार पारिरहेको छु।’

यसै साता डायमन्ड र एपिएफले चितवनमा भएको प्रथम मेयर कप महिला भलिबलको फाइनल खेलेका थिए । त्यसमा एपिएफले जित हासिल गरेको थियो । नेपालगन्जमा यसै साता भोगेको हारलाई बिर्सने अवसर छ डायमन्डसँग । फेरि मन्जुको आगमनले टोली थप उत्साही हुँदै खेलिरहेको छ । प्रशिक्षक राईले मन्जुको आगमनले उपाधि जित्ने दबाब भन्दा पनि सुन्दर भलिबल खेल्न सहयोग गर्ने बताए । उनले भने, ‘मन्जु आएपछि उपाधि जित्नै पर्छ भन्ने छैन । मन्जु राम्री खेलाडी हुन्  । राम्रो खेलाडी राम्रो टिमबाट खेल्नुपर्छ भन्ने सोचका साथ उनलाई हामीले भित्र्याएका हौं।’

यसै गरी नेपाल पुलिस क्लब पनि महिला भलिबलमा एक समयको नम्बर एक टोली हो । तर पछिल्लो समय पुलिसको प्रदर्शन कमजोर देखिँदै आएको छ । नेपालगन्जमै पुलिसले पाँच वर्षअघि प्रधानमन्त्री कप महिला भलिबल जितेको थियो । त्यसपछि पुलिसले ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । उपाधि खडेरीलाई टार्न संघर्ष गरिरहेको पुलिसले अहिले तीन भारतीय खेलाडीलाई टोलीमा समावेश गरेर प्रतियोगिता खेलिरहेको छ । पुलिसका प्रशिक्षक रूपेश विष्ट भारतीय खेलाडीले खेलमा प्रभाव पार्ने बताउँछन् । टिम समन्वय भए पुलिसले नेपालगन्जमा उत्कृष्ट नतिजा निकाल्ने उनको दाबी छ।

आइतबारको खेलः
एपिएफ र नेपाल पुलिस क्लबः (११ बजे)
शिवम् न्यु डायमन्ड र इफाट ग्रुप महिला भलिबल (१ बजे)

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:१३ आइतबार

पिएम कपको सेमिफाइनल समीकरण पूरा