खेल

हालेप र ओज्नियाकी फाइनलमा

मेलबर्न– विश्व नम्बर एक सिमोना हालेपले बिहीबार संघर्षपूर्ण खेलमा एन्जेलिक केर्बेरमाथि तीन सेटसम्म प्रतिस्पर्धा गर्दै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान पक्का गरेकी छन् ।हालेपले केर्बेरको चुनौती ६–३, ४–६, ९–७ ले पाखा लगाएकी हालेपले फाइनलमा क्यारोलिन ओज्नियाकीको सामना गर्ने छिन् ।

‘पक्कै पनि केर्बेरले कडा चुनौती प्रस्तुत गरिन्,’ हालेपले भनिन्, ‘म स्कोर भन्दा पनि कसरी राम्रो प्रदर्शन गर्ने भन्नेमा केन्द्रित भए । मैले हिम्मत हारिन, त्यो नै खेल जित्ने मुख्य कारण बन्यो । राम्रो प्रदर्शनमा केन्द्रित हुँदै आत्मविश्वास गुमाएन भने जुनै पनि खेल जित्न सक्ने प्रमाणित भएको छ ।’विश्व नम्बर दुई क्यारोलिन ओज्नियाकीले इलिस मार्टिन्सलाई ६–२,७–६(७–२) को नतिजामा हराउँदै फाइनल प्रवेश गरेकी थिइन् ।

‘हालेपविरुद्धको खेल निकै अर्थपूर्ण र रोमाञ्चक हुनेछ,’ ओज्नियाकीले भनिन्, ‘किनभने हामी दुवैको एउटै लक्ष्य हुनेछ, फाइनल खेल जित्दै विश्व नम्बर एक खेलाडी बन्ने । म राम्रो प्रदर्शन गर्नेमा केन्द्रित हुनेछु । यो मेरा लागि ठूलो उपलब्धी हो ।’

अस्ट्रेलियन ओपनको फाइनलमा विश्व नम्बर एक र दुई खेलाडी भिड्न लागेको यो १७औं पटक हो । त्यसमा दुवै वरियताका खेलाडीले समान आठ पटक उपाधि जितेका छन् ।
पछिल्लो पटक सन् २०१५ मा विश्व नम्बर एक सेरेना विलियम्सले दोस्रो वरियताकी मारिया सारापोभालाई पराजित गर्दै उपाधि चुमेकी थिइन् ।
 

प्रकाशित: १२ माघ २०७४ ०२:२५ शुक्रबार

हालेप ओज्नियाकी फाइनलमा