खेल

एपिएफ र आर्मीको दोहोरो जित

काठमाडौं – विभागीय टोली नेपाल एपिएप क्लब र त्रिभुवन आर्मी क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन दोहोरो जित निकालेका छन् ।

नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा शुक्रबार भएको खेलमा एपिएफले न्यु डायमन्ड स्पोर्टस क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो। न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २५–१, २५–२ र २५–६ को सहज जित निकाल्दा नेपाल पुलिस क्लबलाई २५–१२, २५–१७ र २५–१३ ले पन्छायो।

शुक्रबारै भएको खेलमा त्रिभुवन आर्मी क्लबले पारामाउन्ट र स्प्रिङ्डेललाई पराजित गर्दै दोहोरो जित दर्ता गर्न सफल भयो। पारामाउन्ट हाइस्कुललाई २५–१३, २५–१२ र २५–८ ले पराजित गरेको आर्मीले स्प्रिङ्डेललाई २५–९, २५–१५ र २५–५ ले पराजित गर्न सफल भयो ।
सुरुआती तीनै खेलमा जित हात पारेका एपिएफ र आर्मी पहिलो र दोस्रो स्थानमा छन्। समान ९ अंक भए पनि आर्मी नतिजाको आधारमा दोस्रो स्थानमा छ।

प्रतियोगिताकै अन्य खेलमा शिवम् न्यु डायमन्ड एकेडेमीले थ्री स्टार एकेडेमीमाथि २५–८, २५–० र २५–१ को सहज जित निकाल्यो। डायमन्डको यो लगातार दोस्रो जित हो। डायमन्डले यसअघि न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो।

शुक्रबारका अन्य खेलमा स्प्रिङडेलले थ्री स्टारमाथि ३–१ को रोमाञ्चक जित दर्ता गर्न सफल भयो। पहिलो र दोस्रो सेट २५–१४ र २५–१० को सहज जित निकालेको स्प्रिङ्डेलले तेस्रो सेट भने २६–२८ ले थ्री स्टारलाई सुम्पेको थियो। चौथो सेट २५–१४ ले जित्दै खेल आफ्नो पक्षमा पा¥यो।

प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमी गरी १२ टोलीको सहभागिता छ।

 

प्रकाशित: ६ माघ २०७४ ०४:४५ शनिबार

एपिएफ आर्मीको दोहोरो जित