खेल

स्पोर्ट्स अवार्डका लागि मनोनयन

झापा– अर्को साता हुने झापा स्पोटर्स अवार्डका विभिन्न विधामा आइतबार मनोनयन सार्वजनिक गरिएको छ।

वर्ष २०७३ मा गरेको प्रदर्शनका आधारमा अर्को आइतबार नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले पाँच विधामा जिल्लाका खेलाडी, खेलकर्मी तथा संस्थालाई सम्मान गर्नेछ । समन्वय शाखाका सचिव एवं छनोट समितिका संयोजक पर्वत पोर्तेलले आइतबार उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र पिपल्स च्वाइस विधाअन्तर्गत उत्कृष्ट प्रशिक्षक विधाका साथै उत्कृष्ट काम गर्ने तीन संस्थाको नाम सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट खेलाडी पुरुषतर्फ फुटबलका विशाल राई (बी) र योगेश गुरुङ र बुद्धिचालका भूपेन्द्र निरौला मनोनयनमा पर्न सफल हुँदा महिलातर्फ क्रिकेटकी रुविना क्षेत्री, करातेकी एस्तर राई र बक्सिङकी सुलप मगर शीर्ष तीनमा परेका छन् । त्यस्तै युवातर्फ फुटबलका देवेन्द्र तामाङ र पुजन उपरकोटी तथा क्रिकेटका सबनम राई मनोनयनमा पर्दा प्रशिक्षक विधामा फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कटवाल र करातेकी सीता राई छन् ।

पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसी मनोनयनमा परेका छन् ।
पूर्वी नेपालमा नै पहिलो पटक आयोजना गरिएको स्पोटर््स अवार्डमा मनोनितमध्येबाट उत्कृष्ट घोषित हुने सबै विधाका विजेताले १५ हजार रुपैयाँको दरले पुरस्कार पाउने समन्वय शाखाका अध्यक्ष रमेश समदर्शीले मनोनयन सार्वजनिक कार्यक्रममा जानकारी गराए । मनोनयन सार्वजनिक कार्यक्रमका विशेष अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं पूर्वाञ्चल अध्यक्ष जलकुमार गुरुङले अर्को वर्षको अवार्डमा आफूले दुईवटा मोटरसाइकल प्रायोजन गर्ने घोषणा गरे ।

प्रकाशित: १ माघ २०७४ ०२:३२ सोमबार

स्पोर्ट्स अवार्डका लागि मनोनयन