खेल

आर्मी र एपिएफको सहज जित

काठमाडौं- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको सुपर लिगमा आइतबार सहज जित हासिल गरेका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दुई विभागीय टोलीबीच सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबमाथि ४–१ को सहज नतिजा निकाल्दा एपिएफले सुदूर पश्चिमाञ्चललाई ९–० को फराकिलो अन्तरमा हरायो ।
कप्तान कृष्णा खत्री र अन्जली वाइवाले दुई÷दुई गोल गरेपछि आर्मीको जित सहज बनेको थियो । अन्जलीले फ्रि–किकलाई गोलमा परिणत गर्दै २०औं मिनेटमा आर्मीलाई अग्रता दिलाएकी थिइन । पुलिसले तत्काल प्रतिक्रिया जनाउने क्रममा गोल खाएको ९ मिनेटपछि बराबरी गोल गरेको थियो । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि फ्रि–किकमै गोल गरेर मध्यान्तरसम्मका लागि खेल बराबरीमा ल्याएकी थिइन ।
तर मध्यान्तरपछि आर्मी प्रभावकारी रुपमा प्रस्तुत हुँदा तीन गोल सम्भव भयो । बल पोसेसनमा पूर्ण रुपमा हावी हुँदै विपक्षी पोस्टमा लगातार अवसर सिर्जना गरिरहेको आर्मीका लागि अन्जलीले ५७औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै अग्रता पुनस्थापित गरिन । त्यसपछि कप्तान कृष्णाले पाँच मिनेटको बीचमा दुई गोल गरेर आर्मीको जित फराकिलो पारिन । ७०औं मिनेटमा गोलको व्यक्तिगत खाता खोलेकी कृष्णाले ७५औं मिनेटमा अर्को गोल गरेकी थिइन ।
आर्मीका प्रशिक्षक आदर्श मल्लले टिम भावनाका साथ खेल्दा सफलता हासिल भएको प्रतिक्रिया दिए । ‘आज हाम्रो टिममा तालमेल राम्रो भयो । सबैले टिमका लागि पूरा मिहिनेतका साथ खेल्दा जित निकाल्न सक्यौं,’ मल्लले भने ।
पुलिसका प्रशिक्षक सञ्जिव जोशीले भने खेलका लागि बनाएको योजना मैदानमा लागु गर्न नसक्दा हार भएको स्विकारे ।
साबित्रा भण्डारीले गोल स्कोरिङ लयलाई कायम राख्ने क्रममा दोहोरो ह्याट्रिक गरेपछि सुपरलिगको अर्को खेलमा एपिएफले सुदूर पश्चिमको टिममाथि रवाफिलो नतिजा निकाल्यो । टोलीको जितमा अनिता बस्नेतले दुई तथा रेखा पौडेलले एक गोलमा नाम लेखाएका थिए ।
१८औं मिनेटमा गोलको खाता खोलेकी साबित्राले बाँकी पाँच गोल दोस्रो हाफमा गरेकी थिइन । ४९औं मिनेटमा दोस्रो गोल गरेकी उनले ७३औं मिनेटमा ह्याट्रिक पूरा गरिन । यसैगरी ७६औं मिनेटमा चौथो गोल गरेपछि उनले ८४ र ९०औं मिनेटमा प्राप्त दुई पेनाल्टीलाई गोलमा परिणत गर्दै व्यक्तिगत दोहोरो ह्याट्रिक पूरा गरेकी थिइन ।
यसैगरी अनिताले ५६ र ६०औं मिनेटमा गोल गरेकी थिइन भने रेखाले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरिन ।

प्रकाशित: २४ पुस २०७४ ०४:१७ सोमबार

आर्मी एपिएफको सहज जित